काठमाडौं। टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट २०२४ सुरु भएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्ट उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे।
कार्यक्रममा मन्त्री गुरुङले सरकारले सूचना प्रविधि क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको बताए। ‘सूचना प्रविधि क्षेत्रमा ३ वर्षमा ३ लाख रोजगारी सिर्जना गर्ने काममा लाग्छु। त्यसमा निजी क्षेत्र, शैक्षिक संस्थालगायत सबैको सहयोग चाहिन्छ,’ मन्त्री गुरुङले भने, ‘आईटीको कुनै सीमा छैनन्। कुनै राष्ट्रियता छैन्। यसमा सबै मिलेर काम गरौं।’
कार्यक्रममा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्न स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको जानकारी दिँदै सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने सुझाव दिए।
नेपाल उद्योग परिसंघको आईटी काउन्सिल अध्यक्ष अजित शाहले स्टार्टअप विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एन्ड आइडिया कमिटीका अध्यक्ष पंकज जलानाले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए।
टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले स्टार्टअप र इन्नोभेसनमा काम गर्न चाहने विद्यार्थीलाई १ करोड बराबरको सिड फन्डिङ व्यवस्था गरेको र कलेजबाट वर्षमा कम्तीमा १५ जना सीईओ उत्पादन गर्ने गरी अगाडि बढेको जानकारी दिए।
यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव रविन्द्र ढकालले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै स्टार्टअप इकोसिस्टममा विकासका लागि मुख्यगरी रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्द्धनमा काम गर्नुपर्ने बताए।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ताले ६ वटा प्रदेशमा उद्यम सम्वर्द्धन केन्द्र स्थापना गर्न लागेको र त्यसका लागि २०–२० लाख बजेट प्राप्त भएको जानकारी दिए।
क्यान महासंघ महासचिव चिरञ्जीवी अधिकारीले स्टार्टअप एन्ड आइडिया फेस्टजस्ता कार्यक्रमले डिजिटल इकोसिस्टमलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार असगर अलि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, पूर्वमन्त्री गणेश साहलगायत सरकारी तथा निजी क्षेत्रबाट उच्च अधिकारीसहित विदेशी नियोगका प्रतिनिधिको समेत उपस्थिति थियो।
शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिनेछ। १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागिता रहेको कार्यक्रममा स्टिम क्याम्प, रकेट साइन्स र रोबो सकर सञ्चालन हुनेछन्।
आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रूपमा आयोजना भएको फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसन प्रदर्शनीमा रहेका छन्।
कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सूचना प्रविधिमा रुचि राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जोकोहीले पनि फेस्ट अवलोकन गर्न सक्नेछन्।
फेस्टमा सहभागी हुनुअगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिस्टलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन भइसकेका छन्।
सातै प्रदेशबाट छनोट भएका स्टार्टअपबाट हरेक प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्रान्ड फिनाले पुस ५ मा सम्मान गरिनेछ।
अहिले आइसिटी अवार्ड २०२४ का लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ। फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिस्टलाई भोट गर्न सकिने व्यवस्था गरिएको छ।
लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सह–आयोजनामा भएको स्टार्टअप एन्ड आइडिया फेस्टलाई टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको छ। त्यसैगरी कार्यक्रमलाई स्मार्टन टेक्नोलोजिज्, इन्जिनियरिङ भ्गल्स, राष्ट्रिय वाणिज्य बैंक, एमआईटी कलेज, हाम्रो पे, मेन्टरल्याब, एम्बिसन गुरु, ब्रोडवे इन्फोसिस, टेक्नोरियो, कान्तिपुर टिभी, किंग्स कलेज, स्काई ब्रोडब्यान्ड, पाइला टेक्नोलोजी, रुटिन अफ नेपाल बन्दलगायतका संघ–संस्थाको सहयोग तथा सहकार्य रहेको छ।