काठमाडौं । दुई वर्षअघि मात्र सञ्चालनमा आएको भैरहवाको टाइगर प्यालेस रिसोर्टलाई माउ कम्पनी सिल्भर हेरिटेजले बिक्रीको निर्णय गरेसँगै एक दर्जन बढी व्यवसायीले खरिदका लागि कम्पनीसँग सम्पर्क बढाएका छन् ।
यसअघि मलेसिया बस्ने इन्द्रबहादुर थापाले होटल खरिद गर्नका लागि सम्झौता गरेपनि उनले समयमा पैसा नबुझाउँदा ‘डिल’ भंग भएको थियो ।
हङ्गकङ्गमा मुख्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले निर्माण गरेको रिसोर्ट खरिद गर्न देशका एक दर्जन व्यवसायी लागिपरेका परेका हुन् । खरिद गर्न गैरआवासिय नेपालीहरुले पनि चासो दिएका छन् ।
सरकारी र सामुदायिक जग्गामा होटल तथा क्यासिनोको पूर्वाधार निर्माण गरेको भन्दै विवादित बनेको टाइगर प्यालेसले यसै विषयमा मुद्धा पनि खेपिरहेको छ ।
स्थानीयहरुले जग्गाको विषयलाई लिएर दुःख दिएको र साझेदारसँग पनि विवाद भएकाले सिल्भर हेरिटेज रिसोर्ट बिक्री गर्ने मनस्थितीमा पुगेको हो । रिसोर्ट निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयदेखि अदालतसम्मको विवाद आएपछि सिल्भर हेरिटेजले नेपाल छोड्ने ‘मुड’ बनाएको हो ।
अष्ट्रेलियाको स्टक एक्सचेन्जमा सूचिकृत सिल्भर हेरिटेजले भैरहवामा २०७४ को अन्तिमदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ बिघा क्षेत्रफलमा करिब बनेको रिसोर्ट करिब ५ अर्ब रुपैयाँमा निर्माण भएको व्यवस्थापनले जनाएको छ ।
सिल्भर हेरिटेजले नेपाल छोड्ने मनस्थिती बनाएपछि काठमाडौं बाहिरको सबैभन्दा ठूलो पाँचतारे होटल खरिद गर्नका लागि मुलुकका एक दर्जन व्यवसायी लागि परेका हुन् ।
होटल खरिदका लागि व्यवसायीहरु राजेन्द्र बजगाईं, सञ्चितमान श्रेष्ठ, सुनिलजंग रायमाझी, कैलाश सिरोहिया, जीवा लामिछाने, त्यस्तै चौधरी ग्रुप, विशाल ग्रुप, आइएमई ग्रुप, काठमाडौं म्यारियटमा क्यासिनो सञ्चालन गरिरहेको डेल्टइन ग्रुप, भूषाल समुह, संभव सिरोहियाको कम्पनी मुभर्स एन्ड शेखर्स गेमिङ रिसोर्ट, मलेसियाका इन्द्रबहादुर थापा, धनेन्द्र कार्की, जेपी राई, अमेरिका बस्ने खगेन्द्र जिसी, गौरी जाेशी, दिप्त, हङ्गकङ्गका रमेशकुमार सावर्थियालगायत छन् ।
कैलाश सिरोहिया, जीवा लामिछान र संभव सिरोहियाको कम्पनीले संयुक्त रुपमा खरिद गर्नका लागि टाइगर प्यालेस रिसोर्टको व्यवस्थापनसँग धेरै पटक कुरा अगाडि बढाएको छ । तीनजनाले संयुक्त रुपमा एक महिनाअगाडि टाइगर प्यालेसको अवलोकनसमेत गरेको व्यवस्थापनले पुष्टि गर्यो ।
त्यस्तै राजेन्द्र बजगाईं र सञ्चितमान श्रेष्ठ समूहले पनि होटल लिनका लागि निरन्तर प्रयास गरिरहेको स्रोतले बतायो । होटल खरिदका लागि सुनिलजंग रायमाझीले अरु केही व्यवसायीसँग मिलेर सिल्भर हेरिटेजलाई प्रस्ताव राखिसकेको छ ।
केही व्यवसायीले टाइगर प्यालेसमा विभिन्न विवाद निकालेर सिल्भर हेरिटेजको व्यवस्थापनलाई नेपाल छोड्न बाध्य बनाएर रिसोर्ट सस्तोमा लिने मौकासमेत कुरेका छन् ।
सिल्भर हेरिटेजको व्यवस्थापनमा रहेका एक उच्च अधिकारीले टाइगर प्यालेस बिक्रीको तयारी भैरहेको बताए । ‘हामी भैरहवाको टाइगर प्यालेस बिक्री गर्ने योजना बनाएका छौं, यसमा दुई विकल्प रहेका छन्,’ उनले भने । ‘एक पूरै स्वामित्व बिक्री गर्ने र अर्काे केहि प्रतिशत सेयर बिक्री गर्ने हो ।’
‘हामी खासमा नेपालमा राम्रो लोकल पार्टनर खोजिरहेका छौं । धेरै व्यवसायीसँग कुराकानी पनि भएको तर सँगसँगै एक व्यवसायीले अर्काे व्यवसायीको विवाद पनि ल्याइरहेका छन्,’ उनले भने । ‘हामी नेपालका ठूला व्यावसायिक गु्रपदेखि व्यवसायीसँग निरन्तर सम्पर्कमा छौं ।’
हामी नेपालमा छोड्ने मनस्थितीमा छैनौं तर भैरहवाको पोपर्टीमा धेरै नै विवाद निकाल्न खोजियो, यसले लगानीकर्ता समुहदेखि अष्ट्रेलियाका सेयरहोल्डरहरुलाई समेत असर परेको उनले बताए ।
‘सिल्भर हेरिटेजले धनगढी, रसुवा र झापामा क्यासिनोसहितको होटल खोल्न खोजिरहेको छ । हामी अझै नेपालमा लगानी बढाउन खोजिरहेका छौं तर वातावरण अर्कै छ,’ उनले भने ।
सिल्भर हेरिटेजले पहिला नेपालको लोकल पार्टनरमा व्यवसायी राजेन्द्र बजगाईंलाई राखेको थियो । बजगाईं बाहिरिएपछि सिल्भर हेरिटेजको साँग्रिला होटल काठमाडौं र टाइगर प्यालेस भैरहवामा रहेको क्यासिनोमा १० प्रतिशत सेयर टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालीका सञ्चितमान श्रेष्ठलाई बिक्री गरेको छ ।
सिल्भर हेरिटेजले नेपालमा होटल खोल्नका लागि राष्ट्र बैंकबाट ५ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गराएको थियो । ५ अर्ब स्वीकृत गरेपनि होटलले नेपालको वित्तिय संस्थाबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ ।
याे पनि पढ्नुहाेस्
टाइगर प्यालेस खरिद डिल गर्ने ‘डमी’ इन्द्रबहादुर, कसले ल्याउँदै छ मलेसियाबाट स्रोत नखुलेको पैसा ? (थापाको अन्तर्वार्तासहित)