काठमाडौं। मुल व्यवसायले उठ्नै नसक्ने गरी थिच्न थाले पछि त्यहाँबाट उठ्न व्यवसायीले सेयर बजारलाई मुख्य आम्दानीको बाटो बनाउन थालेका छन्।
सुस्त आर्थिक गतिविधिको असर व्यवसायमा परेको, ठूलो ऋण लिएर गरेको लगानीबाट प्रतिफल नआए पनि बैंकको ब्याज तिर्नुपर्ने दबाब रहेका कारण व्यवसायीले इज्जत जोगाउन सेयर बजारलाई मुख्य व्यवसाय बनाउन थालेका छन्।
आफ्नो कोर व्यवसाय लामो समयदेखि ठप्प छ। नयाँ व्यवसाय गर्ने आँट आएको छैन। भइरहेकै व्यवसायको ऋण कसरी व्यवस्थापन गर्ने चिन्ता भइरहेको छ। व्यवसायमा गतिशिलता नआउँदा आफू पनि फूसर्दिलो हुने भएकाले सेयर बजारमा लागेको ठूला व्यवसायीहरु बताउँछन्।
‘समय पर्याप्त छ। धेर थोर नगद आफैसँग हुने र त्यही रकम सेयर बजारमा लगानी गरेर बैंक, कर्मचारी, तथा दैनिक खर्च व्यवस्थापन गरिरहेका छौ,’ एक व्यवसायीले भने, ‘व्यापार गर्नेभन्दा अरु काम गर्न सकिँदैन। त्यही भएर देशको अर्थतन्त्र नसुध्रिँदासम्म सेयर बजारमा सक्रिय हुने सोच बनाएको छु।’
बैंकका अनुसार ठूला ऋणीको ब्याज बक्यौता छैन। एकातिर व्यवसायको हालत दैनिक रुपमा विग्रँदो छ। तर, व्यवसायीले सेयर बजारबाट नाफा निकालेर बैंक व्यवस्थापन गरिरहेका छन्।
अहिले नाम चलेका ठूला व्यवसायीको मुख्य चासो सेयर बजारको कुन स्क्रिप्ट चलाउने भन्नेमा छ। ४ जनाको एउटा समूह मिल्ने र नयाँ कम्पनीको सेयरमा लगानी गर्ने र त्यसलाई एकतहसम्म पु¥याएर त्यहाँबाट आएको नाफाले दैनिकी चलाउने काम गरिरहेका छन्।
स्रोतका अनुसार अहिले हुने सेयरको कुल कारोबारको करिब २५ प्रतिशत त्यस्ता व्यवसायीले गर्ने गरेका छन्। अहिले औसत कारोबार ५ अर्ब हाराहारी भइरहेको छ। त्यसमध्ये १ अर्ब कारोबार ठूला व्यवसायी ५ जनाको मात्रै लगानी भइरहेको छ। उनीहरुको अन्य व्यवसायमा शिथिलता आएका कारण यताबाट आफ्नो घाटा पूर्ति गरिरहेका छन्।
कतिपय कम्पनीका स्टाफलाई समेत उनीहरुले सेयर बजारमा सक्रिय गराएका छन्। त्यसो हुँदा कम्पनीमाथिको आर्थिक बोझ पनि कम हुँदै गएको बताउँछन्।
अहिले स्टक बढ्ने भन्दा पनि कम्पनीको सेयर घटबढ भइरहेको छ। समग्र सूचकमा खास बढोत्तरी छैन। तर, कम्पनीका सेयर मूल्यमा ठूलो उतारचढाव छ। ठूला लगानीकर्ताले सहजै उचाल्न सक्ने कम्पनी हेरेर लगानी गरिरहेका छन्।