काठमाडौं। करिब साढे दुई महिना अघि नेपाल भित्रिएको विश्व विख्यात ब्रान्ड ट्रायम्फ मोटरसाइकलले नेपाली बजारमा आक्रामक व्यापार गरिरहेको छ।
खासगरी, युवा जमातको रोजाईमा परेको यो मोटरसाइकल नेपाल भित्रिएको साढे दुई महिनामै ४०० युुनिट बढी बिक्री भइसकेको छ। छोटो समयमा धेरैको रोजाइमा परेर आक्रामक व्यापारको थालनी गरेको ट्रायम्फ ब्रान्ड हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाल भित्र्याएको हो।
कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा ट्रायम्फ ब्रान्डका मोटरसाइकल सार्वजनिक गरि बुकिङ खुला गरेको थियो। ट्रायम्फ बाइकको नेपालमा दुई वटा मोडल ‘स्पिड ४००’ र ‘स्क्याम्बलर ४०० एक्स’ उपलब्ध छन्।
जसमा ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौंको नक्सालमा एकमात्रै शोरुम रहेको ट्रायम्फ बाइक खरिद गर्न दिनकै दजनौं मानिस आउने गरेको ट्रायम्फका म्यानेजर सागर थापा बताउँछन्।
‘छोटो समयमा नै ट्रायम्फ ब्रान्डका मोटरसाइकलमा एकदमै धेरै मानिसको आकर्षण देखिएको छ। औषत रुपमा दिनमै १२ देखि १५ वटा मोटरसाइकल बिक्री भइरहेको छ,’ थापा भन्छन्, ‘उपत्यका भित्र तथा बाहिर र टाढाटाढादेखि बाइक खरिदका लागि ग्राहक आउने गरेका छन्।’ थापाका अनुसार दुई मोडलमा स्क्याम्बलर ४०० एक्स बाइक बढी मात्रामा बिक्री भइरहेको छ।
‘नेपालमा उपलब्ध दुई मोडल मध्येमा बढी मूल्यको अर्थात् ट्रायम्फ स्क्याम्बलर ४०० एक्स मोडलको बढी बिक्री भइरहेको छ। हाम्रो मोटरसाइकल उपत्यका भित्र तथा बाहिरसमेत गइरहेको छ,’ थापा भन्छन्, ‘हामी सुरुमा यी दुई मोडलको व्यापार राम्रो बनाएर अन्य मोडल ल्याउने बाटोमा अगाडि बढ्ने छौं।’
थापा हाल नेपालमा बिक्री भइरहेको मोडलका पार्टपुर्जा, सर्भिस सेवा लगायत सबै कुरामा एकदमै राम्रो काम गरिरहेको बताउँछन्।थापाकाअनुसार अहिले धेरै मोडल भित्र्याउने भन्दा पनि भित्र्याएका मोडलको बजारीकरण नै एकदमै राम्रो बनाएर जाने योजनामा कम्पनी छ। बेलायती ब्रान्ड ट्रायम्फमा ३९८.१५ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ।
यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। यसको टप स्पिड १६७ किलोमिटर प्रतिघण्टा रहेको छ। यसको फ्युल ट्यांक १३ लिटरको रहेको छ। यो बाइकले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ। स्पिड ४०० निलो, रातो र कालो गरि तीन कलर अप्सनमा उपलब्ध छ।
ट्रायम्फ स्पिड ४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ। यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ।
साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन्।
स्क्याम्बलर ४०० एक्स मा ४३ मिलिमिटरको पिस्टन फोकर्स, एड्जस्टेबल रियर मोनोसक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्याम्बलर एर्गोनोमिक्ससहितको प्रिमियम सस्पेन्सन समावेश छ। साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ।
ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ।
यी दुवै मोडलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ। बाइकमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाई वायरजस्ता अत्याधुनिक फिचर छन्। त्यसैगरी ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वीललगायत फिचर यी दुई मोटरसाइकलमा छन्। यी दुई मोडलमा समान फिचरहरु रहेका छन्।
बेलायती ब्रान्ड ट्रायम्फ बाइक १९०२ देखि उत्पादन भएको ब्रान्ड हो। यसले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरु उत्पादन गर्दछ। उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ।
सुरुवाती समयमा बेलायतीहरुले यो बाइक रेसको लागि प्रयोग गर्ने गर्दथे। अफ रोड अन रोड जुनसुकै ठाउँमा जानको लागि पनि प्रयोग गर्न सकिने भएकाले यो बाइक बेलायतमा एकदमै लोकप्रिय मानिन्थ्यो। विश्व युद्धमा पनि यो बाइक सप्लायर भएको थियो। रेसको लागि प्रयोग भएका कारण ट्रायम्फको बाइक एकदमै रिलायबल र बलियो हुने रहेछ भन्ने विश्वमा देखियो।
यहि, चर्चाका कारण बेलायतबाट अन्य देशमा पनि यो ब्रान्डले लोकप्रियता पाउन थाल्यो। बजाज र ट्रायम्फको सहकार्यमा बजाजको भारतमा रहेको चाखनको प्लान्टमा ट्रायम्फ बाइक एसेम्बल हुने गरेको छ।
भारतको प्लान्टमा एसेम्बल भएको ट्रायम्फको बाइक विश्वका धेरै देशमा पुग्ने गरेको छ। नेपालमा यो गोल्छा ग्रुप अन्तर्गत नेपाल ल्याइएको ब्रान्ड हो। आगामी दिनमा ट्रायम्फ ब्रान्डको बाइक नेपालमा बजाजको प्लान्टमा नै एसेम्बल हुने कम्पनीले जनाएको छ।