काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले ‘मौद्रिक नीति तर्जुमा कार्यविधि’ ले तोकेको समयअनुसार पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गृहकार्य तीव्र बनाएको हो।
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा प्रथम त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्छ। मौद्रिक नीति र त्यसको त्रैमासिक समीक्षाको मस्यौदा निर्माणको जिम्मेवारी राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको हो।
विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार मंसिरको पहिलाे साताभित्रै समीक्षा सार्वजनिक गर्ने गरी आवश्यक काम विभागले अघि बढाइसकेको छ।
‘मौद्रिक नीति तर्जुमा कार्यविधिले दिएको समयआगावै समीक्षा सार्वजनिक गर्ने तयारीका साथ काम अघि बढाएका छौं,’ कार्यकारी निर्देशक भट्टले भने, ‘अहिले विभागले चालू वर्षको पहिलो त्रैमासको आर्थिक तथ्यांक संकलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। त्यस पछि मौद्रिक नीति समीक्षाको मस्यौदा निर्माणको काम सुरु हुन्छ।’
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा विभागीय सुझाव र सरोकारवालाको सुझाव मूल्यांकन गरी आवश्यकताअनुसार मौद्रिक नीतिलाई समयसापेक्ष केही परिमार्जन तथा थप नयाँ व्यवस्था गर्न सकिने उनको अनुमान छ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको त्रैमासिक समीक्षाका लागि अन्तरविभागीय सुझाव समन्वय समितिमा छलफल गरेर त्यसपछि व्यवस्थापन समितिमा छलफल गरी मस्यौादामा राष्ट्र बैंक सञ्चालक समितिले अन्तिम निार्णयमा समीक्षा सार्वजनिक हुनेछ।
मंसिर पहिलो साता हुने समीक्षाले कर्जा लगानी नीतिमा केही नयाँ व्यवस्था गर्ने र पुराना व्यवस्था हटाउने सम्भावना छ। बजारमा कर्जा माग नभएको अवस्थामा राष्ट्र बैंकले त्यसमा नीतिगत सहजता दिन सक्ने सम्भावना देखिन्छ।