काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगति अवरुद्ध पार्दा भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बाताएका छन्।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सव उद्घाटन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न आग्रह गरे।
‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पु¥याउने सोच हटेको छैन। यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ’, ढकालले भने।
मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको हुँदा यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने उनको भनाइ छ।
‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोध सामना गर्नुपरेको थियो। तर, अहिले त्यो क्षेत्र समृद्ध छ। स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ’, उनले भने। ढकालले गण्डकी प्रदेश र गैंडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ। हालै नेपाल–चीन कोरोला नाका पुगेर आएको प्रसंग उठाउँदै ढकालले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी करिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने उनले धारणा व्यक्त गरे।
‘म दसैंलगत्तै कोरोलासम्म पुगेर आएँ। कोरोलादेखि सुनौली नाकासम्म पनि गाडीमै पुगेँ। बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ। बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ। हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ। यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्’, उनले भने।
आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको उनले दाबी गरे। प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्यांकन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे।
उनले मुलुकमा बढ्दै गएको नैराश्य चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।