काठमाडौं। ज्यान मार्ने कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका दीपक मनाङेलाई प्रहरीले पक्राउ छ।
मनाङेलाई आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो।
दीपक मनाङेको समूहले २०६१ मा मिलन चक्रे डन भनिने मिलन गुरुङलाई खुकुरी हानेको थियो।
सोही घटनामा संलग्न रहेको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरे पनि जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको बताएर मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो। घटनामा संलग्न भनिएका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो।
फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएपछि अदालतले २०६९ मा मनाङेले ज्यान मार्ने कसुर गरेको ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। घटनामा संलग्न अन्यलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई अदालतले सदर गरेको छ।
सोही मुद्दामा २०७५ मा सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो।
ज्यान मुद्दामा मनाङे २०७५ पुसमा थुना बसेका थिए। उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो। उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ पुस ६ मा धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार मनाङेलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ।