काठमाडौं। राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले ‘इन्ड्राइभ कम्फर्ट’ सेवा सुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यस्तो सेवा सुरु गरेको हो। इन्ड्राइभले यात्रीहरूलाई बढी आरामदायक र प्रिमियम यात्रा विकल्प दिने उद्देश्यसहित यो सेवा थप गरेको जनाएको छ। कम्पनीकाअनुसार सुरु गरेको यो सुविधा अन्तर्गत यात्रुले प्रिमियम गाडी (खासगरी ईभी) को फ्लिटमा एक्सेस पाउनेछन्।
फ्लिटमा स्तरीय सुविधा र अतिरिक्त स्पेस उपलब्ध हुने कम्पनीको भनाई छ। खासगरी प्रिमियम गाडीमा आरामदायी यात्रा गर्न चाहने यात्रुलाई लक्षित गरी कम्पनीले यो सुविधा थपेको हो। ‘इन्ड्राइभमा हामी हाम्रा ग्राहकहरूको आवश्यकता पूरा गर्ने यात्रा विकल्पहरू प्रदान गर्न समर्पित छौं। चाहे त्यो किफायती मूल्य, सुविधा, वा थप आराम होस्,’ इन्ड्राइभ दक्षिण एसियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकरले भने, ‘इन्ड्राइभ कम्फर्ट राइडहरूको शुभारम्भ नेपालमा इनड्राइभको लागि एक रोमाञ्चक विकास हो। हामी हाम्रा प्रयोगकर्ताका विशेष आवश्यकता पूरा गर्ने उद्देश्यले अनुकूलित यात्रा विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं।’
इन्ड्राइभ कम्फर्टमा यात्रीले एक स्तरीय, रमाइलो र उचित मूल्यका यात्रा अनुभव पाउन सक्ने बताइएको छ। इन्ड्राइभकी एसिया प्यासिफिक सञ्चार प्रमुख पवित नन्दा आनन्दले थपिन्, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नै साहसिक यात्रा छनोट गर्ने स्वतन्त्रता दिन्छौं। यसले तपाईंलाई चालक चयन गर्ने अवसर मिल्छ। के तपाईं फलानो व्यक्तिलाई १० मिनेट पर्खिन चाहनुहुन्छ, जो तपाईंलाई एक ईभी गाडीमा लिन आउनुहुन्छ, वा तपाईंलाई नियमित राइड मनपर्छ, जुन केवल २ मिनेटमा तपाईंलाई लिन आउँछ?’
उनले इन्ड्राइभमा बजार सेट गर्ने कुनै एल्गोरिदम र सर्ज नभएको उल्लेख गरिन्। यो भनेको यात्रु, चालकको र स्थानको अवस्था विश्लेषण गरी भाडा निर्धारण गर्ने प्रणाली हो। इन्ड्राइभले आफूहरूले सबै प्रयोगकर्तालाई राइडर छनोटमा स्वतन्त्रता र निष्पक्षता ल्याउने काम गरिरहेको जनाएको छ। कम्पनीले अब राइडरको बीमा योजना पनि ल्याउने जनाएको छ। ठ्याक्कै यो सेवा कहिलेदेखि सुरु हुन्छ भन्नेबारेमा भने कम्पनीले केही खुलाएको छैन।
इन्ड्राइभले राइडरहरूको समस्या समाधान गर्नका लागि काठमाडौंमा सम्पर्क केन्द्र समेत बनाउने योजना सार्वजनिक गरेको छ। त्यसैगरी उत्कृष्ट राइड गर्ने चालकलाई सम्मान गर्ने कार्यक्रम ल्याउने कम्पनीको आगामी योजना छ। त्यसका साथै नेपालमा विद्युतीय सवारी प्रवर्धन गर्न ‘ग्रो ईभी इन्ड्राइभ इलेक्ट्रो’ योजना ल्याउने कम्पनीको लक्ष्य रहेको छ। त्यसका साथै नेपालभर इन्ड्राइभ विस्तार गर्न विभिन्न रणनीति अपनाउने कम्पनीले उल्लेख गरेको छ।