काठमाडौं। भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जान श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवश्यक नपर्ने भएको छ। तर, द्वन्द्वग्रस्त मुलुक रसिया जान भने एनओसी अनिवार्य रहेको सोमबार भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी दिएको हो।
दूतावासका अनुसार श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल हुँदै श्रम गन्तव्य जाँदा एनओसी आवश्य पर्ने छैन। नयाँदिल्लीस्थित दूतावासले भनेको छ– वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीका लागि दूतावासबाट एनओसी लिन पर्ने छैन।’
अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक पर्ने छैन।
श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जानेलाई भने एनओसी आवश्यक पर्नेछ। दूतावासको सूचनाअनुसार द्वन्द्वग्रस्त मुलुक रसियामा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनैपर्नेछ।
पछिल्लो समय नेपाली युवा रुसी सेनामा भर्ती गराएर युक्रेनसँगको लडाइँमा पठाउन थालिएपछि रसिया भिसामा कडाइ गरिएको हो। रुस–युक्रेन युद्धमा हालसम्म ३ दर्जन बढी नेपाली युवाले ज्यान गुमाएको सरकारी तथ्यांक छ।