काठमाडौं। सेयर बजार २२.१४ अंकले बढेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ६२.५४ अंक अर्थात् २.३३ प्रतिशतले बढेर २७३८.०६ बिन्दुमा पुगेको थियो। सोमबार नेप्सेमा कुल ११ अर्ब बढीको कारोबार भएको छ। आइतबार भने नेप्सेमा कुल ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार सपोर्ट लघुवित्त, सामुदायीक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, अन्य पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
सोमबार नेप्से र कारोबार दुबै रकम बढ्दा पनि इस्टर्न जलविद्युत कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। यस्तै, समृद्धि फाइनान्सको सेयर मूल्य ९.७१ प्रतिशतले घटेको छ।
सोमबार लघुवित्त समूहमा सर्वाधिक अर्थात् ३.२० प्रतिशतलको वृद्धि देखिएको छ। बैंकिङ समूह १.०४ प्रतिशतले बढ्दा लगानी समूह १.२८ प्रतिशत, जीवन बिमा समूह १.६६ प्रतिशत, उत्पादन समूह ०.०१ प्रतिशत र म्युचअल फन्ड समूह ०.१५ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको सेयर मूल्यमा ०.१० प्रतिशत, फाइनान्स समूहमा ०.३० प्रतिशत, जलविद्युत समूहमा ०.०५ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.२२ प्रतिशतले घटेको छ। अघिल्लो दिन आइतबार भने जलविद्युत समूहमा सर्वाधिक आकर्षण देखिएको थियो।