काठमाडौं। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा कास्की प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ ऋण लिएको विषयमा केरकार गर्न आज रुपन्देही ल्याइने भएको छ।
रविको नाममा बुटवल उपमहानगर–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको छानबिनले देखाएपछि थप बुझ्न रुपन्देही लैजान लागिएको कास्की प्रहरीले जानकारी दिएको हो।
रविलाई सम्भव भएसम्म सोमबार बेलुकी नभए मंगलबार बिहान जहाजबाट भैरहवा ल्याइनेछ। आजै भैरहवा लैजान भनिए पनि जहाज उडान तालिका बदलिएपछि समय हेरफेर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए।
सुप्रिम ऋण तथा बचत सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय विशेष छानबिन समितिले औंल्याएपछि लामिछाने, अध्यक्ष जीबी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट यसअघि अनुमति लिइसकेको छ।
सुप्रिम सहकारीको १ करोड ९६ लाख रविका नामबाट र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा लगिएको संसदीय छानबिन विशेष समिति र प्रहरी प्रतिवेदनमा दाबी गरिएको छ। रविलाई भैरहवा ल्याइएपछि सुप्रिम सहकारी घोटालाबारे बयान लिने बताइएको छ।
सहकारी रकम अपचलन अनुसन्धानका लागि कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रविलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत म्याद थपेको छ।
रविलाई सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै सुप्रिम सहकारी अपचलन अनुसन्धान गर्न रुपन्देही ल्याउन लागेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड बढी बचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।
सहकारी ठगी आरोपमा कास्की प्रहरीको थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही ल्याएर बयान लिई कास्की लगिसकिएको छ। गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष रहेका जोशीले पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।
संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिए पनि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन।