काठमाडौं। देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले दसौं तथा ११औं वार्षिक साधारणसभा र तेस्रो महाधिवेशन महोत्तरीको बर्दिवासमा गर्ने भएको छ।
आगामी कात्तिक ३० मा हुने साधारणसभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशन उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको महासंघले जानकारी दिएको छ।
महाधिवेशनमा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, उद्योग, वाणिज्य तथा उपभोक्त हित संरक्षण समिति सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय सरकारका प्रमुख र उपप्रमुखको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए।
महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ। यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने गर्नेछ। तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए।
महासंघ स्थापना २०७० मा भएको थियो। संगठनको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीलाई एकताबद्ध गर्नु र हकहितका लागि पहल गर्नु हो। २०७७ माघ २० गते बुटवलमा सम्पन्न अधिवेशनबाट न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।