काठमाडौं। एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसका नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपालपे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौतापछि नेपालमा रहेका नेपालपे क्यूआर तथा अन्तरआबद्धता मर्चेन्ट क्यूआरमा अलिपे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ। चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन तथा इटलीलगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका अन्तरआबद्धतामा क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
अलिपे प्लस नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० बढी इसुइङ उपकरण, ३०० एक्वारिङ नेटवर्क, ९ करोड बढी ग्लोबल मर्चेन्ट आबद्ध रहेका छन्।
अलिपे प्लस नेटवर्कमा अलिपे चीन, ओसीबीसी, चांगिपे, जीक्यास, अलिपे एचके, हाईपे, काकाओपे, टसपे, नेभरपे, टीएनजीडी, पीबीबी, ट्रियुमनी पे, एमपे, टिनावामार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिनेछ।