पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्रिने क्रम बढिरहेको छ। २५/३० वर्ष अघिदेखि नै नेपालमा केही चेन होटल सञ्चालनमा रहे पनि पछिल्लो ४÷५ वर्षमा धेरै खुलेका छन्। अबको करिब तीन वर्षभित्र थप १०/१२ वटा अन्य होटल पनि नेपालमा आउँदैछन्।
अन्तर्राष्ट्रिय चेन होटलले नेपाललाई पर्यटन गन्तव्यको रुपमा आत्मबल दिएको छ। बाहिरका होटल नेपाल आउनुले पनि यहाँ केही सम्भावना छन् भन्ने पुष्टि गरेको छ। साथै, नेपालको भविष्य पर्यटनमै उज्ज्वल छ भन्ने देखाएको छ। यसले परम्परागत होटल व्यवसाय गरिरहेकालाई सिकाइको वातावरण तयार गरेको छ भने नयाँ लगानीकर्ताका लागि सहज बन्दै गएको छ।
नेपालमा सञ्चालित धेरैजसो होटल काठमाडौं केन्द्रित छन्। पूर्वाधार कमी र बजार पहुँच अभावले उपत्यकाबाहिर होटल कम खुलेको देखिन्छ। पूर्वाधार सहज बनाउन सकिए होटलको उपस्थिति काठमाडौं बाहिर पनि हुन सक्छ।
व्यवसायको कुरा गर्दा अर्थतन्त्रको सम्भावना कति छ, कति हुन सक्थ्यो भन्नेमा मात्रै केन्द्रित गर्नेभन्दा पनि हिजो १० लाख थियो, अब १२ लाख गरौं र १२ लाख थियो भने अब १६ लाख गरौं भन्ने किसिमको ट्रेन्डलाई परिवर्तन गर्न आवश्यक छ।
हिजोका दिनमा जंगली जनावरका कारण ‘अफ्रिका अफ एसिया’ भनेर नेपाललाई चिनिन्थ्यो। त्यो समय टाइगर टप्सजस्ता ब्रान्ड आएर अन्तर्राष्ट्रिय दृष्टिकोण नै परिवर्तन भएको थियो। त्यही स्तरका अन्य होटलले पनि सोही समय नेपालमा उपस्थिति जनाएका थिए।
एक समय चीन र भारतजस्ता मुलुकले पर्यटकलाई नेपालको जसरी व्यवस्थापन गर्नुपर्छ भनेर नाम लिने गर्दथे। तर, पछिल्ला दिन हेर्दा भने हामी कहाँ छुट्यौं भन्ने देख्न सकिन्छ। पहिलाको भन्दा अहिलेको टे«न्ड बदलिँदा हाम्रोमा लक्जरी, कम्युनिटी होमस्टे नेटवर्कजस्ता नयाँ–नयाँ किसिमका ब्रान्ड पनि आएका छन्।
हाम्रोमा अहिलेसम्म एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्, जुन बाहिरी मुलुकका पर्यटकले नेपालमा पहुँच बनाउन चुनौती बनेको छ। अब दुई वटा विमानस्थल कसरी चलाउने भन्ने चुनौती चिर्न लुम्बिनीदेखि पश्चिमसम्मबाट विदेश बाहिरिने नागरिकलाई त्यहीँका विमानस्थलबाट पठाउन सके पनि केही राहत हुने देखिन्छ।
यसले काठमाडौंको चाप कम हुन सक्छ। ठूलो सम्भावनाको क्षेत्र भनिए पनि पयर्टन अझै पनि राष्ट्रिय प्राथमिकतामा पर्न सकेको छैन। यसमा सरकारले ध्यान दिएर प्राथमिकता तय गर्दै योजनाबद्ध ढंगमा अगाडि बढ्नुपर्छ।
पर्यटक आकर्षित गर्न गन्तव्यसँगको पहुँच, सहज आउजाउजस्ता विषयमा हामीले काम गर्नुपर्छ। प्रविधि विकासले होटल, विमानको टिकट, ट्राभल बुकिङजस्ता कार्य एक क्लिककै भरमा हुने भएका छन्।
सीमा प्रवेश र भिसामा पनि यही किसिमको सुविधा हामीले पर्यटकलाई दिन सक्नुपर्छ। नेपालमा अहिलेसम्म ई–भिसा छैन, जसको विकास गर्नुपर्नेछ। हाम्रो कतिपय नाकाबाट विदेशी पर्यटक आउन मिल्ने, फर्कन नमिल्ने, फर्कन मिल्ने आउन नमिल्नेजस्ता समस्या छन्।
पर्यटन र होटललाई उद्योगसरहको मान्यताभन्दा पनि उद्योगसरहको सुविधा दिनुपर्छ भन्ने आवाज उठिरहेको छ। हाम्रा नीति तथा ऐन चार दशक पुराना छन्। नेपाल संघीयतामा गइसकेपछि संघ, प्रदेश र स्थानीय सरकारबीचमा समन्वय कसरी गर्ने भन्ने चुनौती हामीसामु छन्।
आजका दिनमा पर्यटकका लागि मुख्य चुनौती भनेकै गन्तव्यसँगको पहुँच अभाव हो। विगत १३ वर्षदेखि नेपालको प्रत्यक्ष हवाई सम्बन्ध युरोपसँग छैन, जुन समस्या समाधान गर्नुपर्नेछ। हाम्रोमा बनेका दुई नयाँ विमानस्थल चलाउन विभिन्न स्किमसहित बजारीकरणमा ध्यान दिनुपर्नेछ।
माल्दिभ्सले वार्षिक १७ लाख पर्यटक आफ्नो मुलुकमा भित्र्याउने गर्दछ, जसको ३० प्रतिशत पर्यटक चार्टर फ्लाइटबाट आउँछन्। यसलाई हामीले पनि हेरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता छ भने सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई कसरी चलाउन सक्छौं भन्ने विषयमा ध्यान दिन जरुरी छ।
भारतीय पूर्वाधारलाई हेरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको निर्धारण गर्ने समय पनि आइसकेको छ। हाल भारतको नेपालसँग सीमा छोएको उत्तरप्रदेश (युपी)मा मात्रै चार वटा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन्। पश्चिम बंगालदेखि उतराखण्डसम्मको पूर्वाधारमा ठूलो परिवर्तन आइसकेको छ।
अतः हामीले यससँग जोडिन प्रभावकारी नीति ल्याउन आवश्यक छ। छिमेकी मुलुक कुन बाटोमा अगाडि बढेका छन् भन्ने विषयलाई हेरेर हामीले आफ्नो योजना बनाउन सक्नुपर्दछ, जसले पछाडि छुट्दैनौं। पर्यटन विकास भएको ७० वर्ष भए पनि हालसम्म हाम्रो मौसममा आधारित पर्यटन व्यवसाय छ।
आरोही र टे«किङबाहेकका अन्य विषयलाई प्रचार गर्न नसके अन्य सिजनमा पर्यटक भित्र्याउन सक्दैनौं। ‘गर्मी से बेहाल चलो नेपाल’जस्ता क्याम्पेन चलाएमा पनि हाम्रोमा गर्मीयाम पर्यटक आउन सक्छन्।
चाडपर्व, खाना, जंगली जनावरजस्ता विषयमा ध्यान पु¥याउन सके हाम्रोमा नयाँ प्रवृत्तिका पर्यटक आउन सक्छन्। यद्यपि, संसारका कुनै पनि देशमा पर्यटन देशैभरि फैलिएको छैन। हाम्रोमा शिक्षा र स्वास्थ्यजस्तो पर्यटक हरेक गाउँ–गाउँ र घरघर पुग्नुपर्छ भन्ने आकांक्षा छ।
पर्यटक लगानी भएका, पूर्वाधार गएका निश्चित ठाउँमा मात्रै जान्छन्। हामीले त्यसलाई विचार गरेर पर्यटक ल्याउने काम गर्नुपर्छ।
आजको २५ वर्षपछि पनि पर्यटक जाँदैनन् भन्ने ठाउँमा मन्दिर बनाएर, अन्य पूर्वाधार तयार गरेर लगानी र स्रोत नष्ट गरिरहेका छौं। यस्ता विषयलाई तत्कालै रोकेर निश्चित र निर्धारित ठाउँमा लगानी गर्नुपर्छ।
हाम्रा बाटा, आउजाउ सुविधा, सुरक्षाजस्ता कुरामा सरकारका सबै निकायले समन्वय गर्न सके छोटो समयमै धेरै फाइदा उठाउन सक्छौं।
पर्यटन नीति बनाउँदै गर्दा सरकारका निम्ति भन्दा पनि पर्यटक, लगानीकर्ता, मजदुर, सरोकारवालाका लागि जोड दिएर बनाइनुपर्छ। पर्यटन क्षेत्रमा सरकारी र निजी क्षेत्रको समन्वयबिना राम्रो नतिजा प्राप्त गर्न सकिँदैन।
यसका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिए स्वायत्तता कायम हुन सकेको छैन। बोर्डलाई स्वायत्त बनाएर अगाडि बढे हामीले थप धेरै काम गर्न सक्छौं। यद्यपि, अहिले जे–जस्तो छ, राम्रो हुन्छ र सफल हुन्छौं भन्ने आशा लिएरै अगाडि बढ्नुपर्ने आवश्यकता छ।