काठमाडौं। नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन पर्यटन मन्त्री बद्री पाण्डेले मन्त्रीपरिषद्मा गरेको प्रस्तावलाई परराष्ट्र मन्त्री आरजु राणाले सिधै अस्वीकार गरिन।
सौर्य एयरलाइन्स दुर्घटना भएलगत्तै अधिकारीको व्यापक आलोचना गरिएको थियो। त्यही विषयलाई लिएर संसद र संसदीय समितिमा अधिकारीलाई छलफलमा बोलाउँदा उनले सासंदहरुलाई विश्वस्त बनाउन सकेन ।
संसद, संसदी समिति र सर्वसाधारणले क्यानको लापरबाहीका कारण हवाई सुरक्षामा खेलवाड भइरहेको आरोपको स्वर बढ्दै गए पनि क्यान नेतृत्वले त्यस विषयलाई सम्बोधन हुने गरि कुनै नीति र जवाफ पेश गर्न सकेन । यहि कारण तालुक पर्यटन मन्त्रालय क्यान नेतृत्वसँग दुरी बढाउँदै हटाउने मनस्थितीमा रहेको थियो । तर परराष्ट्रमन्त्री राणाले तत्काल क्यानको नेतृत्व हटाउने भन्दा पनि नीतिगत सुधार र एयरलायन्स कम्पनीहरुको सेफ्टीमा कडाई गर्नुपर्ने भन्दै अधिकारीको पक्षमा उभिएका हुन्।
यस्ता राम्रा मान्छे अझै दुई÷चार ठाउँमा चाहिन्छ, उहाँलाई कहाँ हटाउने कुरा गरेको भन्दै मन्त्री पाण्डेमाथि नै प्रतिप्रश्न गरेको सहभागि एक मन्त्रीले क्यापिटल नेपाललाई बताए।
मन्त्री पाण्डेले भने शक्तिकेन्द्रलाई रिझाएर सेवा प्रवाहमा लापरबाही गर्दा सर्वसाधारणले ठूलो मूल्य चुकाउनु परेको, क्यानभित्र हुने भ्रष्टाचार मौलाउँदै गएको, सुशासन हराउँदै गएको, सीमित एयरलाइन्स व्यवसायीलाई प्रोत्साहन दिने कार्य मात्रै भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छन् ।
तर, नेपाली कांग्रेसबाटै मन्त्री भएकी राणाले कुनै हालतमा अधिकारीको विकल्प खोज्न नहुने, बरु यस्तै क्षमतावान व्यक्तिलाई अन्य सरकारी निकायमा ल्याउनुपर्ने धारणा राखेको ती मन्त्रीले बताए।
अहिले अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माण गर्ने भन्दै एयरपोर्ट १० घण्टा बन्द गरिदिँदा पर्यटन क्षेत्र नै चौपट हुने अवस्था आएको आरोप पनि अधिकारीलाई छ ।