नेपाल साँच्चै प्रकृतिको वरदान हो। प्रकृतिले नै हामीलाई सबैभन्दा ठूलो र उत्कृष्ट भौगोलिक विशेषता, संसारका अग्ला हिमाल, हरियाली उपत्यका र तराईको जंगलजस्ता अनुपम उपहार दिएको छ।
प्राकृतिक र ऐतिहासिक रुपमा हामी धनी भए पनि यसको उपयोगमा चुकेका छौं। अन्य देशहरुले जसरी स्रोत–साधनको उपयोग गरी पर्यटन प्रवद्र्धन गरिरहेका छन्, त्यसको तुलनामा हामीले काम गर्न सकेका छैनौं। त्यसैले आजका दिनमा पनि हामी गुणस्तरीय पर्यटक अभाव झेलिरहेका छौं।
हामीकहाँ भएका स्रोत–साधनलाई उपयोग गर्ने हो भने यस क्षेत्रमा मार्केट लिडर बन्न सक्छौं। यसका लागि हाम्रो प्रकृति पनि सोहीअनुसारको छ। त्यसैले यसको फाइदा उठाउन सक्नुपर्छ। यसका लागि हामीले के गर्ने हो भन्ने विषयमा स्पष्ट हुन जरुरी छ।
पर्यटन भन्नेबित्तिकै बौद्धनाथ, पशुपतिनाथदेखि असंख्य मन्दिर, दरबार स्क्वायर र हाम्रा परम्परा बिर्सनुहुँदैन। हामीले असंख्य, हिमाल, पहाड पनि पाएका छौं। तर, हामीले नेपालको पर्यटनका लागि जति गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं।
अहिलेसम्म यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भन्नेबाहेक केही गरेको पाइएन। पर्यटन क्षेत्रमा आन्तरिक र बाह्य दुवै रुपमा सकारात्मक सन्देश दिनुपर्ने हो, त्यो दिन सकिरहेका छैनौं।
पर्यटन क्षेत्रको विकासका लागि सरकारसँग हात थापेर बस्नुहुँदैन। हामी आफैंले नेतृत्व लिएर अगाडि बढौं। नेपालको पर्यटनका लागि मुख्य तीन विषयलाई अगाडि लिएर जान आवश्यक देखिन्छ। पहिलो, गुणस्तरीय पर्यटन र पर्यटक। संख्यात्मकभन्दा गुणस्तरीय पर्यटक खोजीमा लाग्नुपर्छ भन्ने आवाज अहिले मात्र उठेको हैन।
धेरै पहिलादेखिकै हो। जब मैले ग्राजुयसन गरेर युकेबाट नेपाल फर्किएको थिएँ, त्यहीबेलादेखि नै यो कुराको चर्चा सुन्दै आएको हुँ। अहिले पनि सुनिरहेको छ, जुन ५० वर्षभन्दा बढी भइसकेको छ। अहिले म आधा समय नेपाल र आधा समय भारत बस्छु।
सन् २००० मा हायात रिजेन्सी होटल सञ्चालनमा आउँदा हामीले एउटा रुम औसत १२० डलर अर्थात् ८ हजार ५०० रुपैयाँमा बिक्री गर्दथ्याैं । अहिले करिब २५ वर्षपछि पनि एउटा रुम ११० डलर अर्थात् १४ हजार ७५० रुपैयाँमा बिक्री गर्न बाध्य छौं। नेपाली रुपैयाँमा धेरै देखिए पनि डलरमा यो घट्दो क्रममा छ। यसले पनि नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम कस्तो छ भन्ने देखाउँछ।
भुटानमा हामीजस्तै होटल रुम अहिलेभन्दा औसतमा तीन गुणा बढी छ। धेरै टाढा होइन, भारतको मन्सुरी र ऋषिकेशमा रहेका पाँचतारे होटलले न्यूनतम २५ हजार भारुमा रुम बिक्री गरिरहेका छन। हाम्रोमा त्यसको आधा अर्थात् १२ हजार भारु पनि छैन।
अर्को तथ्यांक हेरौं। सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए। सोही वर्ष भारतबाट २ करोड ७० लाख मानिस विभिन्न देश घुम्न गए। थाइल्यान्डमा मात्रै १ करोड १६ लाख, दुबईमा ६३ लाख मानिस पुगे। तर नेपालमा सो वर्ष जम्मा २ लाख ७० जना भारतीय पर्यटक आएका थिए।
हामीले ‘क्वालिटी टुरिस्ट’ ल्याउने कुरा गर्छौ। तर, त्यसका लागि गर्नुपर्ने काममा चुकेका छौं। भौतिक पूर्वाधारदेखि पर्यटन प्रवद्र्धनमा हाम्रो उपस्थिति निकै कमजोर छ। आजका दिनमा निजी क्षेत्रबाट होटलमा ठूलो लगानी भए पनि सोहीअनुसार पर्यटन प्रवद्र्धन नहुँदा पर्यटक बढाउन नसकिएको हो।
यदि नेपालमा पर्यटक संख्या बढाउने हो र त्यसमा पनि गुणस्तरीय पर्यटक ल्याउने हो भने हामीले पर्यटन प्रवद्र्धनमा सोच्नुपर्ने समय आएको छ । आफ्ना कमजोरी सुधार्दै नयाँ ढंगले अगाडि बढ्न जरुरी छ। यसका लागि सबैभन्दा पहिले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन जरुरी छ।
नेपालको आन्तरिक पर्यटन बजारमा अनावश्यक प्रतिस्पर्धा भइरहेको छ। मूल्य घटाघट गरेर पाँचतारे होटलले कोठा बेच्नुपर्ने कारण के हो? यो भनेको नेपालमा पर्याप्त पर्यटक नआउनु नै हो। नेपालमा पर्याप्त पर्यटक नआउनुमा मुख्य कारण विमानस्थलदेखि भिसा प्रक्रियाका नियम नै बाधक हुन् भन्ने लाग्छ।
यस्तै, विदेशमा नेपालको प्रचारै हुन सकेको छैन। प्रचारको मुख्य जिम्मेवारी पाएको बोर्ड आफ्नो स्थापनाको लक्ष्यलाई बिर्सिएर अन्तै मोडिएको देखिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको बोर्डले अपेक्षाकृत काम गर्न सकेको छैन। लामो समयसम्म प्रमुख कार्यकारीविहीन बनेको बोर्डले हालै नेतृत्व पाए पनि यसले उद्देश्यअनुरुप काम गर्न नसकेकै कारण नेपालमा चाहेजति गुणस्तरीय पर्यटक ल्याउन नसकिएको तथ्य स्वीकार्नैपर्छ। बोर्डले बाह्य सञ्चार (एक्स्ट्रनल कम्युनिकेसन)मा काम गर्नै सकेन। अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन शून्य अवस्थामा छ भने पनि हुन्छ।
बोर्डसँग गत आर्थिक वर्षमा २०० करोड रुपैयाँ बजेट थियो। यसमध्ये बोर्डले बजार प्रवद्र्धनमा जम्मा ५ देखि ६ करोड रुपैयाँ खर्च गरेको छ। २१ देखि २५ करोड प्रशासनिक र भौतिक पूर्वाधारमा ३० करोड रुपैयाँ खर्च गरेको देखिन्छ। बाँकी खर्च गर्नै सकेन।
कतिपयले बोर्डसँग पूर्वाधार निर्माणका लागि आग्रह गरेको सुन्छु। तर, बोर्डको काम पूर्वाधार निर्माण गर्ने होइन। त्यो काम केन्द्र हुँदै स्थानीय सरकारसम्मले गर्ने हो।
बोर्डले त अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउने हो। तर, मूलभूत उद्देश्यमा प्रभावकारी काम गर्न नसक्दा बोर्डको भूमिका पर्यटन प्रवद्र्धनका क्षेत्रमा कमजोर बनेको छ। यो मैले बोर्डको आलोचना गर्न बोलेको होइन तर, सत्य यही हो।
सन् १९९८ मा बोर्ड गठन गर्दा सार्वजनिक÷निजी साझेदारीमा स्थापना गरिएको हो। तत्कालीन समय सरकार र निजी क्षेत्रबाट बराबरी प्रतिनिधित्व रहने र एक जना प्रमुख कार्यकारी पनि निजी क्षेत्रबाटै ल्याउने भन्ने थियो। तर, अहिले सीईओ नियुक्तिमा सरकारको हस्तक्षेप देखिन थालेको छ। त्यसपछि बोर्डको रुपरेखा नै परिवर्तन हुन थालेको छ।
यस वर्ष बोर्डको बजेट नै बन्न सकेको छैन। बोर्डको बजेट सरकारले दिने होइन, प्रत्येक नेपाली विदेश जाँदा विमानस्थलमा तिर्ने १ हजार रुपैयाँले जुटाउने हो। त्यसबाहेक सरकारले गत वर्ष बोर्डले खर्च गर्न नसकेको बजेटमा पनि कर लगाएको अवस्था छ।
हामीसँग अर्को समस्या पनि छ। बोर्ड खरिद प्रक्रियामा जाँदा सार्वजनिक खरिद ऐनअनुसार जानुपर्छ। त्यसका लागि प्रतिस्पर्धामार्फत कम मूल्य कबोल गर्नेले पाउने हो।
यो अलि अमिल्दो देखिन्छ। हामीले पर्यटन प्रवद्र्धन गर्न उदाहरणका लागि अमिताभ बलिउड अभिनेता अमिताभ बच्चनजस्ता सेलिब्रेटी नेपाल ल्याउने हो भने कसरी कम र बढी मूल्य भन्ने हुन्छ।
यहाँनिर समस्या छ भन्ने लाग्छ। चार जना सेलिब्रेटी ल्याउने हो भने सबैको मूल्य एउटै हुन सक्दैन। यही कारण पनि हामीले पर्यटकीय प्रडक्ट विदेशमा बिक्री गर्न सकेका छैनौं।