काठमाडौं। गत साताको दुई दिने सेयर कारोबार लगानीकर्ताका लागि दोधारपूर्ण (अलमलिने) किसिमको रह्यो। पाँच दिनको तिहार बिदापछि खुलेको बजारमा गत साताको मंगलबार र बुधबार दुई दिन कारोबार भए पनि बजार कता ढल्किन्छ भन्ने लगानीकर्ताको जिज्ञासा अन्योलमै रह्यो। मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा बन्द भयो।
मंगलबार देखिएको बजारको स्थिर प्रवृत्ति बुधबार पनि कायम रहँदै नेप्से १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा रोकियो। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार पनि ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भयो। समग्रमा गत साता नेप्से २.११ अंकले घट्दा कुल ९ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो।
तिहार बिदाअघि अर्थात् कात्तिक ११ देखि कात्तिक १४ सम्मको चार कारोबार दिनमा नेप्से दुई दिन बढेर दुई दिन घट्दा ५०.४८ अंकको वृद्धिका साथ २६७७.६२ बिन्दुमा रोकिएको थियो। उक्त चार कारोबार दिनमा नेप्सेमा कुल २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। तर, अघिल्लो साताको बजारको बढ्दो क्रमले गत साता भने निरन्तरता पाएन।
तिहारलगत्तै बजार बढ्ने र घट्ने दुई थरी चर्चालाई माथ खुवाउँदै गत साता नेप्से स्थिर रह्यो। यसले आगामी दिनमा बजार कतातर्फ लम्केला भनेर चासो देखाउने लगानीकर्तालाई झनै कन्फ्युजनमा पारेको छ। यद्यपि, सेयर लगानीकर्ता भने समग्र बजारको माहोल सकरात्मक रहेकाले बजार उकालो लाग्ने सम्भावना बढी भएको बताउँछन्।
साधारण सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी समग्र माहोल हेर्दा बजार घट्ने अवस्था नदेखिएको बताउँछन्। ‘चाडपर्वको समाप्तिसँगै अब बजारले विस्तारै गति लिने र कारोबार पनि बढ्दै जाने आंकलन गर्न सकिन्छ। आर्थिक सूचक तथा माहोल हेर्दा बजार घटेर जाने देखिँदैन,’ अध्यक्ष जिसी भन्छन्, ‘लाभांशको सिजन छ। कम्पनीहरुले धेरथोर लाभांश वितरण गरिरहेकाले लगानीकर्ताको हात खाली हुने स्थिति पनि छैन। यसले पनि बजार उकालो लाग्न सहयोग गर्न सक्छ।’
तथापि, सरकार परिवर्तनको चर्चा चलेकाे र अस्थिरता तथा नीतिगत परिर्वतन भए बजार जता पनि जान सक्ने जिसी बताउँछन्।बजार अझै धेरै माथिल्लो बिन्दुमा नरहेकाले केही सकारात्मक कदम तथा खबर प्राप्त भएमा बजारले गति लिने उनको तर्क छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा समयमै ल्याएर अर्थतन्त्र चलयमान बनाउन भूमिका खेले त्यसको सकारात्मक प्रभाव पनि बजारमा पर्ने जिसी बताउँछन्।
हुन त, नेपालका मुख्य चाडपर्व दसैं, तिहार र छठ सकिएका छन्। चाडपर्व सुरु हुनु अगाडिदेखि नै केही मात्रामा सुस्ताउँदै गएको सेयर बजार चाडपर्वको समाप्तिसँगै चलयमान बन्ने चर्चा बढी भइरहेको छ। हुन पनि, चाडपर्वका समयमा लगानीकर्ताहरु घर परिवारमा रमाउन, घुम्न तथा आफ्ना विभिन्न काममा बढी नै व्यस्त हुने गर्दछन्। यो समयमा बजार कमै मानिसको चासोमा पनि पर्ने गर्दछ।
अब ठूला चाडपर्व सकिएकाले लगानीकर्ताको सुस्ताएको जाँगरमा परिवर्तन आउन सक्ने सेयर लगानीकर्ता देव गुरागाईं बताउँछन्। ‘केही समयअगाडि बजार एकदमै द्रुत गतिमा अगाडि बढ्यो। बजार धेरै तीव्र गतिमा बढेको पनि राम्रो होइन। विस्तारै उकालो लागेको बजार नै बढी टिकाउ हुन्छ,’ उनी भन्छन्, ‘अहिले पनि नेप्से न्यून बिन्दुबाट आठ सय अंकमाथि नै छ। यसलाई नराम्रो रुपमा लिन मिल्दैन।’
गुरागाईं बजारलाई सामान्य सपोर्ट मिलेपनि त्यसले राम्रो प्रभाव पार्ने बताउँछन्। राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समीक्षाबाट भने धेरै आशा गर्न नहुने र ठाउँ पनि नरहेको उनको तर्क छ। सेयर धितो कर्जामा रहेको १२५ प्रतिशत जोखिमभार १०० प्रतिशतमा झार्ने र व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा केही खुकुलो बनाउने बाहेक अन्य धेरै ठाउँ पनि नरहेको उनको धारणा हो।
यी समग्र विषय हुँदाहुँदै पनि सेयर बजारको प्राथमिक बजारलाई भने सरकारले निष्क्रिय पारेर राम्रो नगरेको गुरागाईं बताउँछन्। ‘लामो समयदेखि धितोपत्र बोर्डले नेतृत्व नपाउँदा सार्वजनिक निष्कास (आईपीओ) लामो समयदेखि जारी हुन सकेको छैन। बजारलाई केही मात्रामा चलयमान बनाउन सहयोग गर्ने प्राथमिक बजार सरकारको उपेक्षामा परेको छ,’ उनी भन्छन्, ‘यसलाई राज्यले ध्यान दिन आवश्यक छ।’ अन्यथा बजारमा देखिएको एक पटकको लहर सधैं सोही गतिमा रहिरहनुपर्छ भन्न नहुने उनको तर्क छ।
पछिल्ला दिनमा सूचक २७०० बिन्दु तल झर्न मानेको छैन भने सो बिन्दुबाट उकालो लाग्ने पनि कठिन मानिरहेको छ। पछिल्लो ११ कारोबार दिनमा नेप्से ११ दिन नै २६०० बिन्दुमै अड्किएको छ। कात्तिक १ गते बिहीबार २७४५.३६ बिन्दुमा रहेको नेप्से त्यसयता हरेक कारोबार दिनमा २६०० बिन्दुमै पुगेर रोकिएको छ।
त्यसअघि असोज ३० गते बुधबार नेप्से २७४२.८८ बिन्दुमा रहेपनि सो भन्दा अगाडिको पाँच कारोबार दिनमा पनि नेप्से बन्द हुने समय २६०० बिन्दुमै पुगेर बन्द भएको थियो। यसबाट पनि बजारले बढ्न केही सहजता खोजिरहेजस्तो देखिन्छ।