काठमाडौं। वायुसेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाएपछि आलोचित हुँदै आएको सरकारले देशी-विदेशी वायुसेवा कम्पनीसँग भाडा नियन्त्रण गर्न पाँचबुँदे सहमति गरेको छ।
शनिबार हवाई भाडा नियन्त्रणका लागि बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), सरकार र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिनिधिबीचको छलफलपछि भाडा नियन्त्रण गर्न पाँचबुँदे सहमति भएको हो।
पाँचबुँदेमा वायुसेवा कम्पनीले ट्राभल एजेन्सीलाई दिँदै आएको एकमुष्ट टिकट बिक्री अधिकार (टीबीए) खारेज गर्ने सहमति जुटेको छ। हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौताका सर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडा कायम गर्ने सहमति भएको उड्डयन प्राधिकरणले जनाएको छ।
हवाई टिकटको मूल्यसूची तोकिने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने सहमति जुटेको छ। हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी विमान सञ्चालकको हुने निर्णय भएको छ।
क्यानले हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई तोकेको छ।
बैठकमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख जगन्नाथ निरौला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी थिए।
यसअघि कात्तिक २३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्ने अग्रसरता देखाएका थिए।
भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको भन्दै मन्त्री पाण्डेले गत शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गरेका थिए।
छलफलमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको थियो।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरेकी थिइन्। उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुलाई लक्षित गर्दै दिल्लीबाट उडान भर्न दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने बताएकी थिइन्।
श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरेका थिए।हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकसमेत मर्कामा परेको उनको दाबी थियो।
पर्यटनमन्त्री पाण्डेले भने दसैं–तिहारको समय बाढीपहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकट मूल्य बढेको प्रष्टीकरण दिएका थिए। उनले बाह्य उडानको हवाई भाडावृद्धि रोक्नु पहल गरिरहेको दाबी गरेका थिए।
यसअघि असोज १३ मा हवाई भाडा वृद्धि नियन्त्रण गर्न प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारको ध्यानाकर्षण गराएको थियो।
समिति सभापति रामहरि खतिवडाले हवाई भाडा वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनले दसैं–तिहारको मुखमै आएको विपत्ति समयमा विमान कम्पनीले आफूखुसी भाडा बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। बाढीपहिरोले सडक यातायात अवरुद्ध रहेको मौका छोपी हवाई भाडा बढाएको उनको भनाइ थियो।