काठमाडौं। उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डल एसिया इकोनोमिक फोरममा भाग लिन आज सिंगापुर उडेको छ। सीआईएम डेलिगेसन मिसन टु सिंगापुर नामक मिसनमा भाग लिन पदाधिकारी सिंगापुर गएको संगठनले जनाएको हो।
प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्षत्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, वीरेन्द्र राठी, सन्तोषकुमार भगत र महानिर्देशक चुडामणि भट्टराई सहभागी हुनेछन्।
एसिया प्रशान्त क्षेत्रका २७ बढी देशका व्यापारिक समुदाय सहभागी हुने कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा कात्तिक २६ र २७ गते सिंगापुरमा हुने इकोनोमिक फोरम तथा ३८औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ।
एसिया इकोनोमिक फोरममा सहभागिता, उत्कृष्ट चेम्बर अवार्ड ग्रहण, कोसी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्तालाई आमन्त्रण र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचारप्रसार तथा कोसी पर्यटन वर्ष २०८२ को प्रचारप्रसार गर्ने गरी चार मिसन तय गरी सिंगापुर गएको संगठनका अध्यक्ष सुरानाको भनाइ छ।
दुई दिने सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापी रुपमा प्रभाव पार्ने महत्त्वपूर्ण विषयमा विशेषज्ञको नेतृत्वमा छलफल हुनेछ। त्यसैगरी व्यापार, आपूर्ति शृंखला र अन्य व्यापारिक विषयका साथै एसिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदारबीच विश्वव्यापी व्यापारको भविष्यबारे अनुभव साटासाट गर्ने कार्यक्रम छ।
सम्मेलनको दोस्रो दिन अर्थात् कात्तिक २७ गते १०औं क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन हुन सफल उद्योग संगठन मोरङलाई औपचारिक कार्यक्रममा ट्रफी र २००० अमेरिकी डलरसहित पुरस्कार वितरण गर्ने कार्यक्र रहेको संगठनले जनाएको छ।