काठमाडौं। नेपालमा सुनदेखि नुन र साइकलदेखि हेभी गाडीसम्म आयात हुँदै आएको छ। यद्यपि विदेशबाट पार्टपुर्जा आयात गरेर मोटरसाइकल, कारलगायत सवारी साधन एसेम्बलिङ उद्योग पनि खुलिरहेका छन्। पछिल्लो समय नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले हुन्डाई कार उत्पादन गर्न थालेको छ। यस्तै, बजाज मोटरसाइकले पनि नेपालमा एसम्बलिङ खोलेको छ।
नेपालमा कार उत्पादन भइरहे पनि नीतिगत जटिलताका कारण पहिलो पटक विद्युतीय मोटसाइकलको व्यावसायिक उत्पादन गरिरहेको यात्री मोटरसाइकलले ६ महिनादेखि उत्पादन बन्द गरेको छ। कम्पनीले विभिन्न कारण देखाएर २०८० वैशाख ८ देखि ईभी मोटरसाइकल उत्पादन बन्द गरेको थियो।
यात्री मोटरसाइकलले उत्पादन बन्द गर्नुअघि ८० वटाभन्दा बढी ईभी बाइक बनाएर बिक्री गरिसकेको कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले बताएका थिए। तर, बजार अवस्था र सरकारी झन्झटिला प्रक्रियाका कारण यात्री ईभी बाइक उत्पादनलाई निरन्तरता दिन नसकिएको प्राविधिक निर्देशक ठाकुरको भनाइ छ। यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो।
यात्री ईभी बाइक उत्पादन बन्द भए पनि अब नेपालीले नेपालमै उत्पादित ईभी स्कुटर चढ्न पाउने भएका छन्। ग्रन्थ इलेक्ट्रिक भेइकल प्रालिले अब नेपालभित्रै ईभी स्कुटर निर्माण प्रक्रियामा लागेको घोषणा गरेको छ।
काठमाडौंको बत्तीसपुतलमा रहेको कम्पनीले हाल आयातीत स्कुटर बिक्री वितरण गर्दै आइरहेकामा लगानीकर्ता पाए निकट भविष्यमा स्थानीय स्तरमै ईभी स्कुटर उत्पादन गरिने घोषणासहित इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारको खोजीमा रहेको सूचना जारी गरेको छ।
कम्पनीले उत्पादन गर्ने ईभी स्कुटर नेपालका विभिन्न भूभागलाई ध्यानमा राखी जस्तोसुकै उकालो पनि २ जना बाकेर सजिलै चढ्न सक्ने क्षमताका हुने दाबी गरिएको छ। उक्त स्कुटरले २४० किमिको रेन्ज दिने बताइएको छ। ईभी स्कुटरको ब्याट्री र मोटरमा ७ देखि १० वर्षसम्मको वारेन्टी हुने र नेपालमा यसको मूल्य २ लाख ८९ हजार रुपैयाँ पर्ने कम्पनीले बताएको छ।
कम्पनीका सीईओ सुदन ढुंगेलले हाल एफडी मोटर्समार्फत ईभी स्कुटर आयात गरेर बिक्री गरिँदै आएकामा नेपालमा उत्पादन गर्न उपयुक्त रणनीतिक साझेदार, लगानीकर्ता, म्युचुअल फन्ड, भेन्चर क्यापिटल, बैंकहरुको खोजीमा रहेको बताए। उनले सुरु पुँजी ५ करोड लगानी अनुमान गरिएको र प्लान्ट स्थापनापछि पुँजी १० करोडसम्म पुग्ने अनुमान गरिएको जानकारी दिए। ईभी स्कुटर उत्पादन पेट्रोलबाट चल्नेजस्तो महँगो नहुने भएकाले पुँजी पनि खासै ठूलो नलाग्ने उनको भनाइ छ।
उनले भने, ‘कम्पनीबाट उत्पादित ईभी स्कुटरले हिमाल, पहाड, तराई जुनसुकै र जस्तोसुकै बाटोमा पनि गुड्ने क्षमतामा बनाउने योजना छ। १० वर्षसम्मको वारेन्टी र मूल्य पनि खासै धेरै राख्ने योजना छैन। २ लाख ८९ हजार अनुमान गरेका छौं।’
नेपालमा आफ्नो निर्माण क्षमतालाई विस्तार गरेर मात्र भविष्यमा सर्वसाधारणका लागि पनि आईपीओ जारी गरिने सीईओ ढुंगेलले बताए। उनले भने ‘स्थानीय रुपमा निर्माण गरेर हामी रोजगारका अवसर सिर्जना गर्नेर्छौ र कर राजस्वमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउनेछौं। यो वातावरणमैत्री यातायात र दिगो विकासका लागि राष्ट्रिय लक्ष्यसँग पनि मेल खान्छ। नेपालमै ईभी स्कुटर उत्पादन गरेर विदेशबाट आयातीत केही अंश घटाउने लक्ष्य हो।’
नेपालको दुईपांग्रे विद्युतीय सवारीसाधन बजारमा नेतृत्व गर्ने लक्ष्य राखेको उक्त कम्पनीले आफूलाई आर्थिक स्रोत र रणनीतिक दृष्टिकोण दिन सक्षम लगानीकर्ता आवश्यक रहेको बताएको छ।