काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन्।
भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गरेका हुन्।
छलफलमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको थियो।
छलफलमा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीले यस विषयमा सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
छलफलमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनी एवं केही ट्राभल एजेन्सीको हात रहेको बताए।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरिन्। उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुलाई लक्षित गर्दै दिल्लीबाट उडान भर्न दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने बताइन्।
श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यसअघि नयाँ दिल्लीबाट नेपाली श्रम गन्तव्यमा जाने गरे पनि म्यानपावर व्यवसायीकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाइएको जानकारी दिए। मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे।
उनले भने, ‘हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकसमेत मर्कामा परेका छन्। सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्छ। वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ।’
पर्यटनमन्त्री बद्री पाण्डेले दसैं–तिहारको समय बाढीपहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकट मूल्य बढेको बताए।
उनले भने, त्रिभुवन विमानस्थल धावनमार्ग विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्स कम्पनीले उडान कटौती गर्ने योजना बनाइसकेका थिए। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट डाइभर्ट गर्न थालिएको छ। हाल तीन÷चार वटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन्। सरकारसँग पर्याप्त विमान नहुँदा समस्या देखिएको छ।’
रोजगार व्यवसायीले भने सरकार आवश्यक परेको बखत निर्मम बन्नुपर्ने सुझाएका थिए।