क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले कात्तिक २० मा यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र विमानस्थल भन्सार कार्यालयले एयर अरेबियाको जहाजमार्फत यूएईको शारजहाँबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिकलाई कात्तिक २० गते सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिक च्यान चोङ, म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन्।
यो वर्षको तिहार लक्ष्मीपूजाका दिन विद्युत् माग हालसम्मकै उच्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको बताएको हाे। गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो। तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।
सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कात्तिक १४ गतेपछि म्याद थपबिनै प्रहरी हिरासतमा बिताएका लामिछानेलाई कात्तिक १५ देखि गणना हुने गरी अदालतले अनुसन्धान गर्न थप १० दिनको समय दिएको हो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई यसअघि ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो। सहकारीको बचत रकम अपचलन प्रकरणमा कात्तिक २ मा पक्राउ परेका रविलाई कात्तिक ४ र ८ मा गरी दुईपटक म्याद थपिएको थियो।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन्। अमेरिकामा कात्तिक २१ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो पटक विजयी भएका हुन्। ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पूर्वराष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल मत पाएका थिए भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल मत पाइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कात्तिक २२ मा सूचना जारी गर्दै विमानस्थल स्तरोन्नतिका लागि ५ महिनासम्म कात्तिक २३ देखि दैनिक १० घन्टा उडान बन्द गरिने जानकारी दिएको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’लगायत निर्माण गर्न करिब १५ अर्ब खर्च गर्नेछ।
सरकारले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षमा कात्तिक २१ मा अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो। तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ।
यो साता सेयर बजार २.११ अंकले घटेको छ। साताको दुई कारोबार दिनमा दुई अंकले घट्दा सेयर बजार २.११ अंकले घटेर २६७५.५१ बिन्दुमा सीमित भएको छ। गत साताको चार कारोबार दिनमा दुई दिन बढी दुई दिन घट्दा ५०.४८ अंकले बढेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६७७.६२ बिन्दुमा रोकिएको थियो। यस साता नेप्सेमा कुल ९ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता नेप्सेमा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेपालमा सामाजिक सन्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक २१ मा सूचना जारी गरेर नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको जानकारी दिएको हो। सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सन्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट पारित गरेको थियो। सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरे पनि गत भदौ ६ मा प्रतिबन्ध फुकाएको थियो। आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट राजस्व उठाउने बाटो खुलेको छ भने नियमन पनि सहज हुनेछ।
नेपाल पर्यटन बोर्डले १० महिनामा साढे ९ लाख पर्यटक भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ। बोर्डले कात्तिक २० मा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ पर्यटक नेपाल घुमफिरमा आएका हुन्। तथ्यांकअनुसार अक्टोबरमा १ लाख २४ हजार ३९३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो। यो अवधिमा भारत र चीनबाट आउने पर्यटकको संख्यामा भने गिरावट आएको छ।