काठमाडौं। ब्रेक थ्रु (छिचोल्ने काम)को तयारी अन्तिम चरणमा पुगेको बेला सिद्धबाबा सुरुङमार्गमा बजेट अभाव भएको छ। डिसेम्बर अन्तिम (पुस) मा ब्रेक थ्रु तयारी गरिएको सुरुङमार्गमा बजेट अभावले निर्माणको गति सुस्त हुँदै जादा ब्रेक थ्रु अनिश्चित भएको हो। मुख्य सुरुङ खन्ने काम कात्तिक २१ सम्म ७४ दशमलव ९५ प्रतिशत सम्पन्न भइसकेको छ।
कुल ११ सय २६ मिटर लामो सुरुङमध्ये कत्तिक २१ गतेसम्म ८१६ मिटर अर्थात् ७४ दशमलव ९५ प्रतिशित खनिसकिएको छ। अब ३१० मिटर मुख्य सुरुङ खन्न बाँकी रहेको सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ।
चालू आर्थिक वर्षका लागि विनियोजित बजेट तिहार पहिला नै सकिएकाले सुरुङ निर्माणको काममा असर परेको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झा बताउँछन्।
सिद्धबाबामा चालू आर्थिक वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन थियो। तर, निर्माण कमपनीले काममा तिव्रता दिएपछि उक्त रकम पहिलो त्रैमासिकमा सकिएको छ।
विकास केन्द्रले २०७८ फागुनमा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सनसँग ५ वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। निर्माण कम्पनीले सुरुङको डिजाइन तयार गरी २०८० माघबाट सुरुङ खन्न थालेको हो।
हाल चाइना स्टेटले दैनिक ६०/७० लाखको काम गरिरहेको छ। सरकारले भुक्तानी दिन नसक्दा सिद्धबाबामा तिहारदेखि मात्रै करिब ३५ करोड रुपैयाँ दायित्व सिर्जना भइसकेको निर्देशक झाको भनाइ छ।
‘अब पनि भुक्तानी दिन सकिएन भने निर्माण कम्पनीले काम नरोक्ला तर, अहिले दैनिक ५०/६० लाख रुपैयाँ बराबर गरिरहेको काम ५/१० लाखमा सीमित हुन्छ’ निर्देशक झा भन्छन्, ‘यसले सुरुङको मात्रै होइन समग्र आयोजनाको काममा नै असर गर्छ।’ हाल सरकारले बिलअनुसारको पैसा भुक्तानी गर्न नसक्दा चाइना स्टेटले आफ्नै पर्सा खर्च गरेर काम गरिरहेको छ।
उनकाअनुसार चालू आर्थिक वर्षका लागि सिद्धबाबा सुरुङमार्गमा थप दुई अर्ब रुपैयाँ बजेट आवश्यक छ। सो रकम माग गरेर विकास केन्द्रले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै पठाएको फाइल अर्थ मन्त्रालयमा पुगेको छ। यद्यपि अर्थले थप बजेटको विषयमा के गर्छ भन्ने निष्कर्ष निकालेको छैन।
अर्थमन्त्रालका प्रवक्ता महेश भट्टराईले कुनै पनि निकाय वा मन्त्रालयलाई थप बजेट निकासा गर्न नसक्ने बताए। भौतिकमै भएको तर खर्च नभई बसेको रकमलाई सिद्धबाबामा रकमान्तर गर्न सकिने बताए।
सुरुङको कुल लागत अनुमान ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। जसमध्ये २३ प्रतिशत रकम खर्च भइसकेको छ। सुरुङ खन्ने काम ७४ दशकलव ९५ प्रतिशत भए पनि सुरुमार्ग आयोजनाको समग्र काम भने २६ प्रतिशत सम्पन्न भएको छ। कुन आयोजना निर्माण गर्नुपर्ने अन्तिम म्याद २०८३ फागुनसम्म छ।
दुई वटा बाइपास टनेल ब्रेक थ्रु
सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङ बाहेक तीन वटा बाइपास सुरुङ छन्। जसमध्ये दुई वटाको ब्रेक थ्रु भइसकेको आयोजना कार्यालयले जनाएको छ। बाइपास सुरुङ–१ र बाइपास सुरुङ–३ असोजमै ब्रेक थ्रु भएका हुन्। बाइपास सुरुङ–२ पनि ९५ प्रतिशत खनिसकिएको छ।
सुरुङ खन्ने काम छिट्टै सकिए पनि आवश्यक पहुँचमार्गदेखि सुरुङ फिनिसिङको काम गर्न केही वर्ष लाग्ने इन्जिनियर बताउँछन्। साथै सवारी सञ्चालन गर्न मिल्ने समय पनि अहिले भन्न नसकिने विकास केन्द्रले जनाएको छ।
सिद्धबाबा सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण हुँदैछ। इपिसी मोडलमा निर्माण हुनु भनेको निर्माण कम्पनीले नै डिजाइन तयार गर्ने तथा म्याद थप नहुने गरी गरिएको ठेक्का सम्झौता हो।