काठमाडौं। गत असोज १०–१२ सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले पुर्याएको क्षतिमध्ये साढे १० अर्ब रुपैयाँ बढी बिमा कम्पनीको दायित्वमा परेको छ। असोज १०–१२ सम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले देशभरको क्षतिमा सवा ७ अर्ब रुपैयाँ बिमा कम्पनीको दायित्वमा पर्ने देखिएको हो।
नेपाल बिमा प्राधिकरणले बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक निरीक्षण गरी ७ अर्ब २८ करोड रुपैयाँ बढी दाबी भुक्तानी दिनुपर्ने अनुमान गरेको हो। प्राधिकरणले असोजको बाढीपछिको क्षतिबाट परेको बिमा दाबीमध्ये कम्पनीले ४७ करोड रुपैयाँ बढी भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्यांकअनुसार कात्तिक २१ सम्म निर्जीवन बिमा कम्पनीमा बाढीका कारण सम्पत्तिमा क्षति पुगेको भन्दै १० अर्ब ५३ करोड २७ लाख ८८ हजार ९ सय ८८ रुपैयाँ बराबरको ३ हजार ४ सय ६० वटा दाबी परेको छ। बीमितले गरेको दाबीमध्ये निर्जीवन बिमा कम्पनीले४७ करोड ११ लाख ५८ हजार ६ सय २७ रुपैयाँ बराबरको ६ सय ३७ वटा दाबी भुक्तानी गरेका छन्।
पछिल्लो पटकको बाढीपहिरो र डुवानका कारण करिब मुलुकभर करिब १७ अर्ब रुपैयाँ बढीको क्षति भएको प्रधानमन्त्री कार्यालयले तथ्यांक सार्वजनिक गरेको थियो। यसमध्ये बिमा गरिएको सम्पत्तिको क्षतिको दायित्व बिमा कम्पनीले बेहोर्नुपर्दा हालसम्म साढे १० अर्ब रुपैयाँ बढी दायित्वमा कम्पनीमा परेको छ।
प्राधिकरणले सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनियरिङलगायतमा बिमा गरिएको सम्पत्तिको क्षति संकलनमार्फत प्राथमिकता निर्धारण गरी दाबी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ। बाढीको क्षतिमा परेको दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमाका ७ अर्ब ९१ करोड ८९ लाख २७ हजार रुपैयाँ बराबरको १६७८ वटा दाबी परेको छ। यसमध्ये कम्पनीहरुले ३८ करोड ९५ लाख ५६ हजार बराबरको ३ सय ४ वटा दाबी भुक्तानी गरिसकेका छन्।
यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा २ करोड ६ लाख ८३ हजार बराबरको २ सय ९१ वटा दावी परेको छ। जसमध्ये १ करोड ११ लाख ८२ हजार बराबरको १८ वटा दाबी भुक्तानी भएको छ। साथै, निजी मोटरमा ९१३ र सार्वजनिक मोटरमा ३५६ वटा दावी गरी ५० करोड बढीको दाबी परेको छ। यसमध्ये कम्पनीहरुले ६ करोड ७२ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरिसकेका छन्।
बाढी क्षतिपछि कृषि बाली बिमामा १० करोड ६१ लाख, पशुपक्षी बिमा १ करोड २२ लाख, सामुद्रिक बिमा १ करोड ५९ लाख र विविधमा ५७ लाख ५२ हजार रुपैयाँ बढीको दाबी परेको छ। बाढीको दाबी सबैभन्दा बढी ५१० वटा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। दाबी रकमका आधारमा सबैभन्दा बढी द ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ५० करोड ७८ लाख रुपैयाँ बढीको परेको छ।
बाढीपहिरोको क्षतिमध्ये कोसी प्रदेशमा ४७ करोड ६० लाख बढी, मधेसमा १७ करोड ६१ लाख बढी, बागमतीमा ९ अर्ब ९१ करोड ७५ लाख बढी, गण्डकीमा ५ करोड ७२ लाख ५७ हजार बढी, लुम्बिनीमा १० करोड ५१ लाख बढी, कर्णालीमा ४ लाख र सुदूरपश्चिममा २ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ।