म हाइड्रो इन्जिनियर भएर पनि पर्यटन व्यवसाय आबद्ध छु। त्यतिबेला समाजमा डाक्टर वा इन्जिनियरिङ पढ्नु राम्रो मानिन्थ्यो र त्यहीअनुरुपको विज्ञान विषय बढ्न प्रतिस्पर्धा हुन्थ्यो। यस्तै होडमा मैले पनि इन्जिनियरिङ पढ्ने सोच बनाएँ। त्यतिबेला मलाई कम्प्युटरभन्दा हाइड्रो इन्जिनियर राम्रो लाग्यो र पढाइ सुरु गरें।
हाइड्रो इन्जिनियर पढाइ सकिएपछि मैले काम सुरु गरें। अहिले पनि समाजमा छोरी मान्छेलाई कार्यालयमै बसेर काम गर्नु राम्रो हो मानिँदै आएको छ। हाइड्रो इन्जिनियर भएपछि स्थलगत अध्ययन/अनुसन्धानमा पनि जानुपर्छ। हाइड्रो इन्जिनियरका रुपमा बिजनेस डेभलपमेन्टको क्षेत्रमा बुटवल पावर कम्पनीमा काम गरें। कामका दौरान फिल्ड जाँदा कहिल्यै दुःख महसुस गरिनँ। सञ्चालनमा रहेका परियोजनमा बर्खाको समय नदी रहेका उच्च क्षेत्रमा नदीको प्रवाह गति नाप्न जानुपथ्र्यो। त्यसरी स्थलगत अध्ययनमा केही यात्रा गर्न पाएँ र त्यहाँको प्रकृतिको माया लाग्यो। म लोभिएँ।
म हाइड्रोपावर क्षेत्रमा सुरुआती चरणमै रहेका बेला बेग्लै केही गर्नुैपर्छ भन्ने थियो। हाइड्रोपावर क्षेत्रमा काम गर्दै जाँदा पर्यटन क्षेत्रबारे अध्ययन गर्दै गएँ। यो क्षेत्र अध्ययन गर्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा रहेको अपार सम्भावनाका धेरै पक्षलाई अघि बढाउन छुटिरहेजस्तो लाग्यो। पर्यटन क्षेत्रमा सम्भावना देखेपछि हाइड्रो इन्जिनियरिङ पढे पनि पर्यटन व्यवसायमा सक्रिय भएँ। अहिले म आफैं संलग्न भएका बर्दियामा ‘बुर्हान वाइल्डनेस क्याम्प’, पोखरामा ‘देउमाडी माउन्टेड कटेज’ र ‘द लप्सी ट्री’ छन्।
पर्यटन क्षेत्रमा संलग्न हुँदाका मेरा आफ्नै कथा छन्। मेरो कान्छो भाइ मनोज गौतम ‘वाइल्ड लाइफ कन्जरभेसन’ (वन्यजन्तु संरक्षण) को सोखिन थियो। पर्यटनमा आबद्ध भइसकेको समय केही व्यक्तिले नदी किनारमा क्यासिनो सञ्चालन गर्ने योजना बनाए। क्यासिनो सञ्चालन त्यहाँका जनावरका लागि उपयुक्त नहुने देखेर तिनको संरक्षणका लागि हामीले वातावरणमैत्री बुर्हान सञ्चालन गर्ने योजना बनायौं। कोभिडअघि मनोजले मलाई वन्यजन्तु संरक्षणमा केही गर्न आवश्यक छ भनेर सुझायो। त्यसपछि वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिँदै ‘बिजनेस प्लेटफर्म’ तयार गरेर अघि बढ्यौं। बुर्हान वाइल्डनेस क्याम्प व्यक्तिगत जग्गा लिएर सञ्चालन गरिएको छ।
यो क्षेत्रमा ‘प्रिमियम मार्केट’ सिर्जना गर्न धेरै चुनौती थिएन वा अधिक मिहिनेत गर्नुपरेन। स्थानीयदेखि सबै स्टेक होल्डरलाई सहभागी गराएर होटल क्षेत्रमा उदाहरणीय काम गर्न अग्रसर भयौं। यद्यपि बुर्हान कस्तो स्वरुपमा लैजाने वा कसरी सञ्चालन गर्ने भनेर पूर्वयोजना बनाइएको थिएन। तर, वातावरणमैत्री भएर पर्यटन व्यवसायमा केही गर्ने जोश÷संकल्प भने थियो। पछि मात्रै बुर्हानमा ‘क्याम्प आइडिया’ आएको हो। अहिले हामी धेरैलाई बुर्हानका विषयमा बुझाउन प्रयासरत छौं।
बुर्हानको अवस्थिति पूर्ण रुपमा ‘आइल्यान्ड’ जस्तो छ। शून्य कंक्रिट, शून्य ‘वेयस्ट’, ‘रि–साइकल वाटर’, पाहुना आएपछि टेन्ट लगाउने व्यवस्था बुर्हानका विशेषता हुन्। कर्णाली नदीका दुई किनारमा अवस्थित बुर्हान वाइल्डनेस क्याम्पले आगन्तुकलाई जंगलमा पैदल यात्रा, क्यानोइङ यात्रा र वन्यजन्य ट्र्याकिङका लागि एन्टी–पोचिङ युनिटसँगको अवसर दिन्छ।
बुर्हान आउने पर्यटकले जंगली हात्ती, एकसिंगे गैंडा, बाघ, घोरल मृगलगायतका जनावर र विभिन्न प्रजातिका पक्षीहरूलाई नजिकैबाट हेर्न पाउँछन्। दुर्लभ कालो इबिस, भव्य रुड्डी सेलडक्स, रातमा क्रियाशील नाइटजार र माछा खाने उल्लुजस्ता पक्षी यहाँका मुख्य आकर्षण हुन्। बर्खा बेला बुर्हानमा डल्फिन पनि देख्न पाइन्छ।
बुर्हानमा कुनै पनि प्रकारको स्थिर भौतिक संरचना निर्माण गरिएको छैन। पाहुना आएपछि मात्रै आवश्यकताअनुसार टेन्ट लाग्छ। पाहुनाको सत्कारमा स्थानीय स्तरमै प्राप्त खानाको व्यवस्था गरिएको छ। बुर्हानमा पाहुना हुँदा प्रयोग भएका कुनै पनि सामान त्यहाँ छाडिँदैन। यसरी त्यहाँको प्राकृतिक सुन्दरतालाई विशेष प्राथमिकतामा राखेर जंगली स्वभावलाई जोगाइएको छ। बुर्हानले स्थानीय थारु संस्कृति जगेर्ना गर्दै रोजगारीमा समेत उल्लेख्य सहयोग गर्दै आएको छ।
बुर्हानले जनावर संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटकको सत्कार गर्छ। सौर्य ऊर्जामा चल्ने एयर कन्डिसनसहितको विलासी ‘ट्री–हाउस’ खोल्न योजना छ। पूर्ण रुपमा ‘अफग्रिड’ अर्थात् पर्यावरणमैत्री अवधारणमा सञ्चालन हुने ट्रि–हाउसमा पाहुनालाई आवश्यकताअनुसार सबै प्रकारका सुविधा उपलब्ध गराउन प्रयास हुनेछ। ‘ट्रि–हाउसमा काठबाट बनाइएका अस्थायी कोठा रहने छन् भने बाथटब, अट्याच बाथरुमलगायत अन्य आधारभूत सेवा समेटिनेछ। बुर्हान आउने पाहुनालाई कुनै किसिमको असहजता महसुस नहोस् भनेर लक्जिरियस् ट्री–हाउसको अवधारणा अघि सारिएको हो।
अहिलेसम्म बुर्हानमा आउने पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएका छौं। बुर्हान आउने पाहुना जनावरलाई माया गरी प्रकृतिमा रमाउन खोजिरहेको देखिन्छ। बुर्हान आउने पाहुना देखेर यस्तो लाग्छ, यहाँको मनोविज्ञान (फिलोसफी) बुझेरै आउनुभएको हो। अहिलेसम्म हामीले बुर्हानलाई प्राथमिकतामा राखेर पर्यटन व्यवसाय अघि बढाइरहँदा काठमाडौं उपत्यकाबाहिर सक्रिय छौं। तर, अब उपत्यका नजिकै पनि यस्ता खाले क्याम्प सञ्चालन गर्न आवश्यक योजना बनाएर अघि बढिरहेका छौं। जीव–जनावर तथा प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वातावरणमैत्री नगरकोटमा ‘नोमिनल क्याम्प’ अबको केही महिनामा सञ्चालनमा आउनेछ।