काठमाडौं। देशैभरीका डिजिटल स्टार्टअपको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीले आयोजना गर्ने प्रदर्शनीमा सय बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी रहनेछ। कात्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठूलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागिता रहनेछ।
आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ। फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनले समेत आफ्ना आइडिया र प्रडक्ट सोकेस गर्नेछन्।
यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपको पनि कार्यक्रममा सहभागिता रहनेछ। सह-आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेम सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाजक समितिका अध्यक्ष राजन लम्सालले बताए। कार्यक्रममार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेलाई सहकार्यका आयोजकले आह्वान गरेको छ।
आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङ व्यवस्था गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ।
सातै प्रदेशका स्टार्टअपबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिनेछ। आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ। विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनले पनि कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन्।
आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ। छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ। नेपालको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ।