काठमाडौं। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसिओ)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्। जापानमा हालै सम्पन्न असोसिओको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४–२६ सम्म सो पदमा पुनः निर्वाचित भएका हुन्।
कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसिओमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका वहन गर्दै आएका थिए भने २०२०–२२ मा सह–उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए।
कुँवरले भने, ‘सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसिओमार्फत एसियाली देशमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसर खोल्नेछ। साथै, यसले एसियाका विकासशील र अविकसित देशबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु।’
क्यान महासंघ अध्यक्ष रणजितकुमार पोदारले कुँवरलाई पुनः उपाध्यक्षमा निर्वाचित भएकामा बधाइ नेपालको डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने विश्वास छ,’ अध्यक्ष पोदारले भने।
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले कुँवरको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको क्षेत्रमा पहिचान बनाएको भन्दै आगामी कार्यकालमा थप उपलब्धिको अपेक्षा राखे।
क्यान महासंघ अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थामा समेत आबद्ध छ। हालै क्यान अध्यक्ष पोदारले ८४ देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाको छाता संगठन वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्सको कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।