काठमाडौं। सरकारी होस् या निजी। कुनै पनि संघसंस्थाको व्यवस्थापकीय जिम्मेवारी उक्त संस्थाको प्रमुख कार्यकारीमा हुन्छ। विशेषगरी वित्तीय क्षेत्र व्यवस्थापन हाँक्ने जिम्मेवारीमा रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदलाई महत्त्व दिने गरिएको छ।
बैंकका सीईओको कार्यसम्पादन तथा कुशलताले सेयरधनीलाई लगानीमा राम्रो प्रतिफल र निक्षेपकर्ताको पैसा सुरक्षित क्षेत्रमा लगानी हुन्छ। ‘सीईओको जिम्मेवारी सम्हाल्न योग्य छु’ भनेर देखाउन कार्यकालभरि गर्ने कार्यले संस्थालाई कतिसम्म लाभ पुर्याउन सक्छ भन्ने विषयमा उसले सञ्चालक समितिमा प्रतिबद्धता व्यक्त गर्नुपर्छ। कतिपय बैंक सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गर्दा उसको अन्य संस्थामा कार्यरत रहँदाको पद र जिम्मेवारी वहन क्षमता मूल्यांकन गर्छन्। निश्चित व्यावसायिक योजना पेस गर्न निश्चित समय दिइएको हुन्छ।
बैंक सञ्चालक समितिले सीईओले पेस गरेको व्यावसायिक योजना चित्त बुझे उसलाई नियुक्त गर्छ। सीईओले आफ्नो व्यावसायिक योजना नियामक नेपाल राष्ट्र बैंकमा समेत पेस गर्नुपर्छ। बैंक सीईओले आफ्नो व्यावसायिक योजना र प्रतिबद्धता कार्यान्वयन गरे÷नगरेको मूल्यांकन सञ्चालक समितिले मात्रै नभएर राष्ट्र बैंकले समेत गर्छ। सीईओले बैंकको त्रैमासिक र वार्षिक वित्तीय विवरणमा समेत अघिल्लो कार्ययोजनासहित वित्तीय विवरण हेरफेरको सफाइ दिनुपर्छ।
यस्तै, सीईओबाट व्यक्त प्रतिबद्धताअनुसार काम भए/नभएको मूल्यांकन साधारण सेयरधनीले समेत गर्छन्। बैंकका सीईओ आफूले लगानीकर्ता र निक्षेपकर्ता सम्बन्धित रहेर संस्थासँग गरेको प्रतिबद्धता कार्यान्वयनबाट मात्रै बैंकसँगै समग्र वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पर्छ। राष्ट्र बैंकको स्थलगत निरीक्षण टोलीको सुपरिवेक्षकले पनि सीईओको कार्यसम्पादन मूल्यांकन गर्दै अघिल्लो प्रतिबद्धताबारे प्रश्न गर्छ।
प्रतिबद्धता पूरा नगर्ने सीईओलाई के हुन्छ?
बैंकको सम्पूर्ण व्यावसायिक गतिविधि र रणनीतिलाई मार्गनिर्देश गर्दै काम गर्ने सीईओको निर्णय, कार्यसम्पादनले सम्बन्धित संस्थाको व्यावसायिक भविष्य र प्रतिष्ठा तय गर्छ। बैंकको दीर्घकालीन रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याउने सीईओले सोहीअनुसारको काम गरे व्यावसायिक लक्ष्य प्राप्ति र मुनाफामा वृद्धि गर्न सक्छ।
सीईओले संस्थागत तथा व्यावसायिक रणनीति बनाउँदा तल्लो तहका कर्मचारीदेखि सञ्चालक समितिसम्म समन्वय गरेको हुनुपर्छ। सीईओले आफ्नो व्यावसायिक योजनाअनुसारका प्रतिबद्धता पूरा गर्न नसके त्यसको जवाफदेही सञ्चालक समिति हुनुपर्ने सिटिजन्स बैंक इन्टरनेसनल सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डे बताउँछन्।
‘व्यवस्थापनको सबै जिम्मेवारी लिएको सीईओले आफ्ना प्रतिबद्धता पूरा नगरे नियामकीय निकायदेखि निक्षेपकर्ता र अन्य सेयरधनीलाई समेत सञ्चालक समितिले जवाफ दिनुपर्ने हुन्छ,’ बैंक अध्यक्ष पाण्डेले क्यापिटल नेपालसँग भने, ‘सीईओले पेस गरेको व्यावसायिक योजना कार्यान्वयन नगरे उसलाई पदमुक्तसम्म गर्ने अधिकार सञ्चालक समितिमा हुन्छ।’
बैंकका सीईओले प्रतिबद्धता पूरा नगरेकै कारण सञ्चालक समितिले प्रश्न गर्दा वा साधारणसभामा अन्य सेयरधनीको जवाफ दिन नसक्दा पदबाट राजीनामा समेत दिनुपर्ने उनको बुझाइ छ।
‘सीईओका कार्यसम्पादनबारे साधारणसभामा धेरै सेयरधनीले असन्तुष्टि व्यक्त गरे उसलाई पदमुक्त गराई अर्को योग्य सीईओ नियुक्त गर्नुपर्ने सञ्चालक समितिको जिम्मेवारी हो,’ उनले भने।
लामो समयसम्म तत्कालीन जनता बैंक र केही समय ग्लोबल आईएमई बैंक सीईओको जिम्मोवारी सम्हालिसकेका ई–सेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीसमेत सीईओले आफ्नो प्रतिबद्धता पूरा गर्न नसके नैतिक रुपमा पदबाट राजीनामा दिनुपर्ने बताउँछन्।
‘फुटबलमा आफ्नो टिमले हार्यो भनेर राजीनामा दिने प्रशिक्षक देखेका छौं। बैंकिङमा पनि सञ्चालक समितिलाई पेस गरेको व्यावसायिक योजना पूरा गर्न नसक्ने सीईओले पदबाट राजीनामा दिन्छन्,’ क्षेत्रीले क्यापिटल नेपालसँग भने, ‘तर, संस्थाको भन्दा आफ्नो भलाइका लागि मात्रै जागिरे हुने सीईओले वार्षिक बजेट योजना पूरा गर्न नसक्दा होस् वा सञ्चालक समितिमा पेस गरेको योजना पूरा गर्न नसक्दा। कुनै पनि अवस्थामा पद छाडेको पाइँदैन।’
नेपालमा सीईओले गर्ने व्यावसायिक प्रतिबद्धतालाई प्रभाव पार्ने अन्य बाह्य आर्थिक कारण धेरै हुने हुँदा सीईओले अनुमानित योजना कार्यान्वयन गर्न नसक्ने उनको भनाइ छ।
‘समग्र अर्थतन्त्र नै समस्यामा रहेर सबै बैंकिङ क्षेत्रले राम्रो गर्न नसकेको अवस्थामा सीईओले पूर्वानुमानित योजना पूरा गर्न सक्दैन। तर, सबै सामान्य हुँदा पनि राम्रो गर्न नसक्ने सीईओले नैतिकताको आधारमा संस्था छाड्छन्,’ उनले भने, ‘उसलाई आफ्नो योजना पूरा गर्नुपर्ने धेरै पे्रसर हुन्छ। सोही कारण धेरै सीईओ कार्यकाल नसकिँदै बैंकबाट बाहिरिइरहेका हुन्छन्।’
बैंकका सीईओलाई व्यवसाय विस्तार गरी नाफा बढाउन मात्रै नभएर ‘कम्पलायन्स’मा पनि राम्रो गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ।सीईओको प्रमुख कर्तव्य भनेको बैंकको वित्तीय स्वास्थ्य र सेयरधनी तथा निक्षेपकर्तासँगको प्रतिबद्धता पालना गर्नु रहेको महालक्ष्मी विकास बैंकका पूर्वसीईओ बोधराज देवकोटा बताउँछन्।
‘सीईओले आफ्नो प्रतिबद्धता पूरा नगरेकै कारण औंल्याएर पदमुक्त भएको अन्तर्राष्ट्रिय अभ्यास पाइन्छ भने राम्रो काम गर्नेलाई सञ्चालक समितिले निकाले पनि साधारण सेयरधनीको बहुमतमा पुनः नियुक्त गरेको पाइन्छ,’ देवकोटाले क्यापिटल नेपालसँग भने, ‘नेपालमा पनि सीईओलाई प्रतिबद्धता पूरा गर्न सञ्चालक समितिले दबाब दिइरहेका हुन्छ भने केहीले राम्रो गरेकै कारण २÷३ कार्यकाल थपेको पाइन्छ।’
बैंकमा सबैभन्दा बढी सेवा–सुविधा पाउने सीईओले संसथाको रणनीतिक योजना, वित्तीय स्थायित्व तथा नाफा वृद्धि, जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा ग्राहक र साझेदारसँग सम्बन्ध सुमधुर बनाएर संस्थाको प्रतिष्ठा उच्च बनाउने रणनीति कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ।