काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी र्अघ्य दिइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको हो।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।
छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसंगति अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्दै प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गरेका छन्।
सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ।
खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीद्वारा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका छन्। पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिँदै आएको उनको भनाइ छ।
‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो’, छठ पर्व अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रा पुर्खाले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना।’
छठ पर्व अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले पनि शुभकामना व्यक्त गरेका छन्।