काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार बुधबार एक अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो । मंगलबार यस्तो दर १३४.८९ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसाग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रूपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । बुधबारसम्म अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला हृयारिसमाथि विजय प्राप्त गरिसकेका छन् ।
यो नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ । ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । अब उनी फेरी राष्ट्रपति भएपछि घोषणापत्रमा उल्लेख गरेअनुसार डलरलाई रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने अनुमानका आधारमा लगानीकर्ताको डलरप्रति आकर्षित बढेको जानकारहरू बताउँछन् ।
अमेरिकी डलरको भाउ बढोस वा घटोस त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर, डलरको भाउमा आएको उतारचढाबले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलिया वा कमजोर हुने जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार राति ११ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८४.३२ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि अवमूल्यन हुँदै आएको छ । यो हालसम्मकै उच्च हो ।
नेपाललाई लाभ
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुादा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।
यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । अहिले रेमिट्यान्स बढिरहनुको एउटा कारण अमेरिकी डलर बलियो हुनु पनि भएको जानकार बताउँछन् । यद्यपि असोज र कात्तिक दसैं र तिहारको महिना भएकाले डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक प्रभाव परेको उनीहरूको अनुमान छ ।
नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले न त पर्यटक अपेक्षित रूपमा बढाउन सकिएको छ, न त निर्यात नै बढाउने सम्भावना छ । यसकारण डलर बलियो भएको लाभ नेपालले खासै लिन नसकेको जानकार बताउँछन् ।
नेपाललाई हानी
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनाहरूमा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यत्ति बढेको छैन । यस्तै, डलरको मूल्य बढ्दा विदेशमा अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्चिनुपर्ने हुन्छ ।
विदेशी लगानी फिर्ता, विदेशी लगानीको लांभाश वितरणलगायतमा पनि धेरै रकम खर्चिनु पर्ने जानकारहरू बताउँछन् ।