काठमाडौं। नियामक निकायले सेवाप्रदायकलाई लागू गर्ने सम्पूर्ण नियम कानुन एउटै हुनुपर्छ र हुन्छ। सेवा प्रदायकले पनि नियामकले लागू गरेका सम्पूर्ण नियम सानो होस् या ठूला सबै कम्पनीले अनिवार्य लागू गरेकै हुन्छन् र गर्नुपर्छ। तर, उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विन्टर सिजनका लागि स्वीकृत गरेको नयाँ उडान तालिकामा भने सेवा प्रदायक कम्पनी(एयरलाइन्स)लाई विभेद गरेको पाइएको छ।
कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि प्राधिकरणले आन्तरिक एवंम बाह्य उडानमा भारी कटौती गरेको हो। प्राधिकरणले स्वीकृत गरेको नयाँ तालिकाअनुसार आन्तरिकतर्फ ३५ प्रतिशत उडान कटौती भएको छ। त्यसमध्ये सबैभन्दा बढी यती र श्री एयरलाइन्सको उडान कटौती भएको हो।
यती र श्रीको तुलनामा बुद्धको २० प्रतिशत मात्र उडान कटौती भएको देखिन्छ। जहाज र गत महिनाको उडान संख्यालाई हेर्दा पनि यती/श्रीलाई दिएको उडान तालिकामा विभेद भएको भन्दै प्राधिकरणमा संशोधनका लागि निवेदनसमेत दर्ता भएको छ। ३५ प्रतिशत उडान कटौतीको तालिकामा बुद्धलाई ‘फेबर’, यती/श्रीले बुझाए संशोधन पत्र
प्राधिकरणले स्वीकृत गरेको नयाँ तालिकाअनुसार बुद्धले सबैभन्दा बढी दैनिक १३९, यतीले ४१ र श्रीले ३१ उडान गर्न पाउने छन्। यो भनेको एकतर्फी उडान बुद्धलाई ७०, यतीलाई २० र श्रीलाई १५ हुन आउँछ। यसअघि पनि बुद्धले दैनिक ७५ देखि अधिकतम ८० उडानसम्म गर्दै आएको थियो।
यस्तै यतीले ३८ देखि ४० र श्रीले २० देखि २२ उडान गर्दै आएको थियो। यो भनेको दुईतर्फी उडान बुद्धको १६०, यतीको ८० र श्रीको ४४ उडानसम्म हुने गरेको थियो। यस्तै नेपाल एयरलाइन्सले ४, तारा एयरले ५, समिट एयरले ४ र सीता एयरले ६ उडान पाएको छ। योसँगै अब दैनिक २३० उडान मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान हुनेछ। यसअघि दैनिक ३५६ उडान हुने गरेको थियो।
बुद्धसँग १७ वटा जहाजमध्ये १४ वटाले मात्र उडान गरिरहेका छन्। श्रीसँग ११ र यतीसँग ७ वटा जहाज छन्। श्रीले पनि सबै जहाजबाट नियमित उडान गर्दैन।
विमानस्थलको क्षमता विस्तारका लागि राती १० देखि बिहान ८ बजेसम्म उडान–अवतरण बन्द हुनेछ। हाल बिहान ६ देखि राती २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन भइरहेको छ।