काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले विन्टर सिजनका लागि स्वीकृत गरेको उडान तालिकामा बुद्ध एयरलाई मात्र ‘फेबर’ गरेको भन्दै यती र श्री एयरलाइन्सले असन्तुष्टी जनाउदै संशोधन गर्न छुट्टाछुट्टै पत्र दर्ता गराएको छ।
कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक उडान ३५ प्रतिशत कटौती गरेर नयाँ तालिका सार्वजनिक गर्दा बुद्धलाई मात्र बढी उडान दिएको भन्दै यती र श्रीले तालिका संशोधनका लागि प्राधिकरणमा छुट्टाछुट्टै पत्र दर्ता गरेको हो।
नयाँ उडान तालिकामा बुद्ध एयरले यस अघि गरेको दैनिक उडान सरह नै उडान तालिका पाएको भन्दै यती र श्री एयरलाइन्स असन्तुष्ट बनेको हो।
प्राधिकरणले स्वीकृत गरेको ‘विन्टर सिजन’ को नयाँ तालिका अनुसार बुद्धलाई दैनिक १३९ उडान दिदा यतीलाई ४१ र श्रीलाई ३१ उडान मात्र दिएको छ। यो भनेको एक तर्फि उडान बुद्धलाई ७०, यतीलाई २० र श्रीलाई १५ हुन आउछ। यस अघि पनि बुद्धले दैनिक ७५ देखि अधिकतम ८० उडान सम्म गर्दै आएको थियो। यस्तै यतीले ३८ देखि ४० र श्रीले २० देखि २२ उडान गर्दै आएको थियो। यो भनेको दुईतर्फि उडान बुद्धको १६०, यतीको ८० र श्रीको ४४ उडानसम्म हुने गरेको थियो।
‘गत महिनाको उडान आधारमा वा जहाज संख्याको आधारमा उडान अनुमति दिँदा पनि बुद्धलाई बढी र यती÷श्रीलाई कम दिइएको छ,’ निवेदन दर्ता गराएको मध्ये एक वायुसेवा कम्पनीका उच्च अधिकारीले भने, ‘कुन आधारमा तालिका पारित भएको हो त्यसको जवाफ मागेका छौं र सबैलाई समान हुने गरी नयाँ तालिका सार्वजनिक गर्न अनुरोध सहितको पत्र प्राधिकरणलाई दिएका हौं।’
बुद्धसँग १७ वटा जहाज मध्ये १४ वटाले मात्र उडान गरिरहेको छ। श्रीसँग ११ र यतीसँग ७ वटा जहाज रहेको छ। श्रीले पनि सबै जहाजबाट नियमित उडान गर्दैन। ‘उड्डयन क्षेत्रको प्रमुख निकायनै नागरिक उड्डयन प्राधिकरण भएकोले उसले सार्वजनिक गर्ने तालिकामा कुनैपनि कम्पनीलाई भेदभाव गर्नु गलत हो,’ एक वायुुसेवा कम्पनीका उच्च कर्मचारीले भने, ‘देखादेखनै एकलाई काखी च्यापेर अरुलाई समस्यामा पर्ने काम हुँदैन भन्ने अपेक्षा हामीले लिएका छौं।’
नयाँ उडान तालिका पारित भएसँगै मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जग्गनाथ निरौलालाई यती र श्रीका प्रतिनिधिहरु दुखेसो पोख्दै पत्र लिएर संशोधनका लागि अनुरोध गर्न पुगेका थिए। तर, महाप्रवन्धक निरौलाले तालिका संशोधन आफुले मात्र चाहेर गर्न नसक्ने भएकोले केन्द्रिय कार्यालयमै जान अनुरोध गरेपछि यती र श्रीको प्रतिनिधिहरुले प्राधिकरणमा गएर छुट्टाछुट्टै निवेदन दिएका छन्।
कसले कति उडान पाए?
प्राधिकरणले पास गरेको नयाँ उडान तालिका अनुसार बुद्धले १३९, यतीले ४१, श्रीले ३१, नेपाल एयरलाइन्सले ४, तारा एयरले ५, समिट एयरले ४ र सिता एयरले ६ उडान पाएको छ। योसँगै अव दैनिक २३० उडान मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरीक उडान हुने छ। यस अघि दैनिक ३५६ उडान हुने गरेको थियो।