काठमाडौं। डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका हुन्। ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन्।
अहिलेकी उपराष्ट्रपति समेत रहेकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन्। पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन्। ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन्। ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेका छन्।
ट्रम्प सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेर ४६ औं राष्ट्रपति बनेका थिए।
आफ्नो जित निश्चित भएपछि ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने बताए। ‘यो अमेरिकाका लागि शानदार जीत हो, जहाँ हामी अमेरिकालाई फेरि महान बनाउन सक्षम हुनेछौं,’ ट्रम्पले भने, ‘हामी आफ्नो देशलाई हित गर्न मद्दत गर्नेगरी काम गर्नेछौं।
उनीमाथि विभिन्न आरोप लागेको छन्। चार वर्षअघि पराजय स्वीकार गर्न अस्वीकार गरेका ट्रम्पमाथि अमेरिकी क्यापिटलमा हिंसात्मक विद्रोहलाई प्रज्वलित गरेको आरोप छ। फौजदारी अभियोगमा दोषी ठहर भएका उनी दुई पटकको हत्या प्रयासबाट बचेका थिए। हाल भने पूर्व राष्ट्रपति ट्रम्पले असाधारण पुनरागमन गरेका छन्।