काठमाडौं। चिनियाँ ऋण सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उक्त वर्षभरि जम्मा ७ वटा मात्र उडान भएका थिए।
विमानस्थल सञ्चालनको पहिलो दिन हिमालयन एयरलाइन्सले डेमो उडान गरेको थियो। त्यसपछि सन् २०२३ नोभेम्बर २३ मै हिमालयन एयरलाइन्सको जहाज पोखरा आएर फर्केको थियो। हिमालयनले त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो। त्यसयता पोखराबाट अन्तर्राष्ट्रिय उडान भएका छैनन्।
तर, पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडका सहभागीसहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज चीनको कुन्मिङबाट बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ।
यसअघि सिचुआनले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान भरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गरेको सिचुआनको पहिलो उडान थियो। फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागी ८४ चिनियाँलाई लिएर सिचुआनको जहाज पोखरा ओर्लिएको थियो।
त्यसपछि सेप्टेम्बर ९ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण गरेको थियो। ड्रुकले पोखरा आउँदा ३ जना यात्रु ल्याएको थियो भने फर्किंदा ४२ विदेशी यात्रु लिएर उडेको थियो।
पोखरामा अन्तर्राष्ट्रिय विमानले उडान भरेको एक वर्षपछि चिनियाँ जहाज पुनः बिहीबार दिउँसो पोखरामा अवतरण गर्नेछ भने २ घन्टापछि दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्ने विमानस्थल प्रवक्ता जसोदा सुवेदीले बताइन्। चार्टर गरेर पोखरा आउन लागेको चिनियाँ जहाज फर्किंदा रित्तै जानेछ।
पोखरामा हुने प्रतियोगिताका लागि खेलाडी लिएर आएको जहाज उनीहरुलाई लिन आउने/नआउनेबारे जानकारी नरहेको प्रवक्ता सुवेदीको भनाइ छ।
गत नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चीनका दुई कार्गाे जहाज पोखरा विमानस्थमा अडिएका थिए।