काठमाडौं। बिजुली उपभोग गरेको प्रमाण दिएर महसुल उठाउने विकल्पलाई लत्याएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियामकीय चक्रव्यूह प्रयोग गरेर जबर्जस्ती असुली थालेका छन्।
केही दिनअघि सर्वोत्तम सिमेन्टबाट घिसिङले यसैगरी असुली गरे। सर्वोत्तम सिमेन्टमा विष्णु न्यौपाने र विमल सावर्थिया साझेदार हुन्। सावर्थिया जलविद्युत् क्षेत्रमा पनि आबद्ध छन्।
२०८० माघ २ गते सावर्थिया र दीपक मल्होत्रा साझेदार रहेको कम्पनी टाइम्स इनर्जीसँग साहस ऊर्जा लिमिटेडलाई ३ सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त (पिआरओआर) आयोजनाको लाइसेन्स बेच्यो।
सावर्थिया मल्होत्राको कम्पनीले विद्युत् विकास विभागबाट लाइसेन्स पाएको एक हप्तामै सुशील थापाको कम्पनी टाइम्स इनर्जी बेचे पनि प्राधिकरणबाट गरिदिनुपर्ने काम घिसिङले अड्काएर राखेका थिए।
उनले आफ्नो नियामकीय अधिकारको दुरुपयोग गर्दै नियमसंगत हुनुपर्ने कामलाई रोकेर सर्वोत्तम सिमेन्टको फर्जी बक्यौता तिरेपछि मात्रै आवश्यक प्रक्रिया सहजीकरण गरिदिने अड्को थापे।
घिसिङलाई साहस ऊर्जालाई बेचेको लाइसेन्सको साझेदार सावर्थिया सवोत्तम सिमेन्टका पार्टनर हुन् भन्ने थाहा थियो। सावर्थिया घिसिङ जलविद्युत क्षेत्रमा फेवर गर्ने सर्त राखेपछि उनले सवोत्तमका अर्का पार्टनर न्यौपानेलाई सावर्थियाको दबाब आयो।
साझेदारको निरन्तरको दबाबपछि न्यौपानेले प्राधिकरणले पठाएको फर्जी बिल सदर गरेर ४ करोड रुपैयाँभन्दा बढी रकम किस्तामा तिर्न तयार भए। अहिले घिसिङले दुईतिरै व्यवसायमा संग्लन व्यवसायीलाई दबाब दिएर आफू सही सावित हुन खोजिरहेका छन्।
त्यसैगरी फर्जी बिल भुक्तान नगरेको भन्दै धेरै कम्पनीले उत्पादन गरेको विद्युत् पनि किनिदिएका छैनन्। उनले जो–जो फर्जी बिल तिर्न तयार भएका छैनन्, उनीहरुले लगानी गरेको कम्पनीले उत्पादन गरेको बिजुली नकिनी खेर फालिदिएका छन्।
स्रोतका अनुुसार एकाधिकारको फाइदा र नियामकीय अधिकार दुरुपयोग गरेर कुलमान अघि बढेको आरोप छ। उद्योगीले उपभोग गरेको बिजुली प्रमाण दिए आफूहरु तिर्न तयार भएको बताइरहेका बेला नियामकीय अधिकारलाई गलत तरिकाले प्रयोग गरेर व्यवसायीलाई गल्याइरहेका छन्।
प्राधिकरणले बिजुली उपभोग गरेको प्रमाण दिन नसकेपछि उद्योगीलाई अन्य तरिकाबाट दुख दिन खोजेका छन्। लाइन काटिएका उद्योग सञ्चालकहरु जलविद्युत् क्षेत्रमा पनि छन्। बिजुली किन्ने नकिन्ने अधिकार प्राधिकरणसँग छ। आफूसँग निउ खोज्ने व्यवसायीलाई बिजुली नकिनिदिएर ठूलो नोक्सान पुर्याइरहेका छन्।
प्रमाण दिन नसक्ने, प्रमाण नदिँदा आफू तल पर्ने सम्भावना बढ्दै गएपछि बजारमा उद्योगीले तिरेको सन्देश प्रवाह गराउन उनले नयाँ अस्त्र चलाएको उद्योगीहरुले बताएका छन्। ‘बिजुली उसैलाई बेच्नुछ,’ त्यसबाहेक अन्य काम पनि परिरहन्छ भन्दै साझेदार आउन थालेका छन्,’ एक उद्योगीले भने, ‘यस्तो अवस्थामा धेरै दिनसम्म एक साझेदारले भनेको कुरा अर्को साझेदारले नमान्ने भन्ने हुँदैन। बाध्य भएर खाँदै नखाएको विष पनि स्वीकार्नुपर्छ।’