काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन्।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो।
इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा उपलब्ध गराइएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ।
इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेको हो।
यो सम्मानले नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ।
कार्यक्रममा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए।
ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यसबाट आफूलाई नेपाल र इन्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिका लागि काम गर्न थप प्रेरणा मिलेको धारणा व्यक्त गरे।
नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीलाई भिसा फ्रि सम्झौता भएकामा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले यसबाट दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे।
यसअघि पनि सन् २०१५ को भूकम्प समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो। ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत रहेका छन्। कार्यक्रममा विभिन्न देशका राजदूत, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो।