भिजिट नेपाल २०२० लाई लक्षित गरेर २०१८/१९ तिरै होटल क्षेत्रमा धेरै ठूलो लगानी भएको थियो। कतिपयले त्यतिबेलाको लगानी खेर गएको रुपमा बुझ्छन्। तर, अहिले आशावादी हुने अवस्था बनेको छ। यसबीचमा कर्जाको ब्याजदर धेरै वृद्धि भए पनि अहिले तल्लो करिडोरतिर छौं। कर्जाको औषत ब्याजदर नै एकल अंकमा आइसकेको छ।
ब्याजदर तल्लो सीमामा आएको बेला सबैले आफूले लिएको कर्जाको ब्याजदर स्थिर दर कायम गर्नु राम्रो हुन्छ। व्यवसायीले आफुले लिएको कर्जाको ब्याजदर ५÷७ वर्षका लागि स्थिर (फिक्स्ड) गर्ने हो भने आगामी दिनमा व्यवसाय गर्न सजिलो हुन्छ। यो व्यवसायीका लागि मौका पनि हो। नेपाल राष्ट्र बैंकले होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा ब्याजदर स्थिर बनाएर खर्च घटाउन मद्दत गर्न सक्छ। राष्ट्र बैंकले कोभिडकालमा समस्यामा परेका होटललाई बैंक तथा वित्तीय संस्थाबाट सोझै पुनर्कर्जाको व्यवस्थामार्फत सहयोग गरेको थियो।
राष्ट्र बैंकको उद्देश्य वित्तीय क्षेत्र स्थायित्वमा रहनुपर्छ भन्ने हो। धेरै उतारचढाव हुँदा सबै क्षेत्रमा समस्या हुन्छ। अहिले सरकारले पर्यटन दशक घोषणा गरेको छ। यो दशकमा केही नभए पनि लाखौंको संख्यामा पर्यटन भित्र्याउन सकिन्छ। त्यसका लागि होटलियर समिटमा औंल्याइएका विषयलाई गम्भीरतापूर्वक लिएर सुधार्न सकिए थप फाइदा लिन सक्छौं।
पर्यटक अन्तर्राष्ट्रिय मात्रै नभएर आन्तरिक तथा स्थानीय पनि हुन्छन्। केही नेपाली विभिन्न प्रयोजनले बिदेसिए पनि स्वदेशमा रहेकालाई सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा संलग्न गराउनुपर्छ। राष्ट्र बैंकले १० दिनको छुट्टी र खर्च दिएर घुम्न जाने सुविधा दिएको छ। यस्तो सुविधा बैंक तथा वित्तीय संस्थासहित अन्य निजी तथा सरकारी निकायले दिए आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग मिल्छ। यसले पर्यटक संख्यामा वृद्धि गर्न सघाउँछ। अन्तर्राष्ट्रिय पर्यटक वृद्धिसँगै आन्तरिक पर्यटन बढाउन सरकार र निजी क्षेत्रले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्छ।
पर्यटन व्यवसाय एउटै प्रकृतिको नभएर फरक–फरक हुन्छ। विविध प्रकारका स्थानीय स्वाद पस्किएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ। सरसर्ती हेर्दा नेपाल भित्रिने पर्यटक संख्या वास्तविक होइन कि जस्तो देखिन्छ। पूर्वका स्थानलगायत भारतको सीमावर्ती क्षेत्रबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने करिब ५/७ लाख पर्यटकको तथ्यांक समेटिएको पाइँदैन। भारतीय सीमाबाट आउने पर्यटकको तथ्यांक समावेश गर्दा नेपालमा पर्यटक आगमन संख्या वार्षिक १२ लाख नभएर १७÷१८ लाख हुन पुग्छ।
समग्र परिवेश हेर्दा नेपालले वार्षिक ५० लाख पर्यटक आयात गर्न सक्छ। तर, नेपालसँग ती पर्यटक धान्ने क्षमता छ त? पर्यटक माग र आवश्यकताअनुसार सेवा–सुविधा दिन सकिने क्षमताको विकास भएको छ कि छैन? कुनै समय बेनी पुगेका पर्यटक त्यहाँका होटलले धान्न नसकेर बाहिरिएको कुरा सुन्नमा पाइन्छ। त्यसैले पर्यटक आगमन बढाए मात्रै हुँदैन, आवश्यक धेरै पूर्वाधार विकास गर्नुपर्ने हुन्छ। पूर्वाधार विकासमा पर्यटन क्षेत्र पनि ठूलो सम्भावना भएको क्षेत्र हो।
राष्ट्र बैंकले विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रलाई विशेष महत्त्व दिएर हेर्ने गर्छ। विदेशी मुद्रा आर्जनमा सहयोग गर्ने होटल तथा पर्यटन क्षेत्रलाई सदैव सहयोग गर्ने नीति राष्ट्र बैंकले लिएको छ। परिस्थितिअनुसार विदेशी मुद्रा आर्जन गर्ने साना–ठूला सबै प्रकारका होटललाई सहयोग गरिरहेको छ। कोभिड समय अप्ठ्यारोमा परेका होटल सञ्चालन हुनुपर्छ भनेर सोझै व्यवसाय निरन्तरता कर्जा दिएकै हो। राष्ट्र बैंकले पर्यटन क्षेत्र प्रवद्र्धनमा सदैव सहजताको नीति अँगाल्छ र हामी सधैं आशावादी हुनुपर्छ।
(क्यापिटल म्यागजिनकाे असाेज अंकबाट)