होटल व्यवसायीले लामो समयदेखि होटल क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त र उत्पादनमूलक उद्योगको मान्यता दिन माग गर्दै आएका छन्। उद्योग विभागमा दर्ता भएका होटलले अहिलेसम्म प्राथमिकताप्राप्त र उत्पादनमूलक उद्योगको मान्यता नपाउँदा सरकारी स्तरबाट कुनै पनि सेवा–सुविधा नपाएको दाबी व्यवसायीको छ।
क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटललाई उद्योगको मान्यता दिन सरकार तयार रहेको बताए। ‘होटललाई उद्योगको मान्यता किन दिनुपर्योरु त्यसले के फाइदा हुन्छरु औचित्य पुष्टि हुने विवरण सरकारलाई बुझाउनुस्, अध्ययन गरेर कार्यान्वयन गर्ने जिम्मेवारी मेरो भयो,’ अर्थमन्त्री पौडेलले भने।
त्यसो त, औद्योगिक व्यवसाय ऐन, २०७६ ले पर्यटन सेवालाई उद्योगको मान्यता दिएको छ। पर्यटक आवास, मोटेल होेटल, रिसोर्ट, बार तथा रेस्टुराँलाई पनि पर्यटन सेवाभित्र राखेको छ। तर, होटल व्यवसायीले राष्ट्रिय प्राथमिकताप्राप्त र उत्पादनमूलक उद्योगको मान्यता खोजिरहेका छन्। यस्ता उद्योगलाई औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सुविधा तथा सहुलियत दिन सक्ने व्यवस्था ऐनमा छ।
हानका अध्यक्ष विनायक शाह राज्यले होटललाई उद्योगको मान्यता दिई उद्योगले पाउने सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताउँछन्। ‘पर्यटन क्षेत्रको विद्युत् खपतमा सहुलियत दर र करमा विशेष छुट आवश्यक छ,’ शाहले भने, ‘विद्युत खपत नियमावलीमा संशोधन गरी होटल उद्योगलाई विशेष विद्युत् महसुल कायम गराई उद्योगसरहको सुविधा दिनुपर्छ।’
होटलमा निजी क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौंलाई रोजगारी दिएकाले पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको क्षेत्रलाई पाखा राखिनु मुलुककै दुर्भाग्य भएको शाहको बुझाइ छ।
विश्व पर्यटन संगठनको एक सर्वेक्षणअनुसार एउटा पर्यटक नेपाल आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष ११ जनाले रोजगारी पाउँछन्। वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल प्रतिवेदन, २०२४ मा पनि होटल तथा पर्यटन क्षेत्रमा झन्डै १२ लाखले रोजगारी पाएको उल्लेख छ। पर्यटन उद्योगको मेरुदण्ड होटल हो।
होटल उद्योगले उत्पादन अभिवृद्धि गर्न र कच्चा पदार्थ प्रशोधन गरी प्रत्यक्षरअप्रत्यक्ष उत्पादन वृद्धि गरी पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा योगदान पुर्याएको हुन्छ। पर्यटकका कारण होटलमार्फत कृषि, यातायात, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, हस्तकला, घरेलु उद्योगको आपूर्ति शृंखला कायम राखी प्रत्यक्षरअप्रत्यक्ष आर्थिक योगदान हुँदै आएको छ।
त्यसैगरी मुलुकमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रका रुपमा होटल रहेको छ। नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभ लिन सक्ने क्षेत्र भएकाले पनि होटलले वस्तु तथा सेवा उपलब्ध गराएर विदेशी मुद्रा आर्जन गरिरहेका छन्। त्यसैले होटल व्यवसायीले निर्यात उद्योगले पाउने प्रोत्साहन होटलले पनि पाउनुपर्ने माग गर्दै आएका छन्।
होटलले गन्तव्य विस्तार गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। विगतमा सुनसान मानिने क्षेत्र अहिले होटल विस्तारका कारण भरिभराउ र घना बस्तीमा विकास हुन मद्दत गरेको छ। उदाहरणका लागि, क्लब हिमालयका कारण नगरकोट, धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर)का कारण धुलिखेल, काठमाडौं गेस्ट हाउसका कारण ठमेल परिचित हुँदै गएको बिर्सन सकिन्न। होटलले तालिम तथा प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले विश्व बजारमा आवश्यक प्रतिस्पर्धी र क्षमतायुक्त कामदार आपूर्तिमा समेत सहयोग गर्दै आएका छन्।
औद्यागिक व्यवसाय ऐनमा उद्योगलाई दिइएका केही सेवा–सुविधा
– राष्ट्रिय प्राथमिकता उद्योग सञ्चालन गर्न सरकारी स्वामित्वको जग्गा आवश्यक परे सम्बन्धित उद्योगले आफूलाई आवश्यक पर्ने जग्गा क्षेत्रफल खुलाई जग्गा उपलब्ध गराउन उद्योग दर्ता गर्ने निकायमा निवेदन दिने व्यवस्था गरिएको छ।
– ऐनले वर्गीकरण गर्दै उत्पादनमूलक उद्योगभित्र कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी माल वस्तु उत्पादन गर्ने उद्योगलाई समेटिएको छ। व्यवसायीका अनुसार होटलको ४० प्रतिशत आम्दानीको स्रोत उत्पादन पक्ष हुने गरेको छ। कच्चा पदार्थमा आधारित उत्पादन हुने हुँदा अर्धप्रशोधित उत्पादनबाट होटल क्षेत्रले सेवा प्रवाह गरी आर्थिक लाभ लिने भएकाले होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगको श्रेणीमा राखिनुपर्छ।
– ऐनले उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करमा २० प्रतिशत छुट व्यवस्था गरेको छ। त्यस्तै, यस्ता उद्योगले आफ्नो उत्पादन निर्यात गरी आर्जित आयमा लाग्ने करमा ५ प्रतिशत छुट सुविधा दिएको छ। त्यति मात्र होइन, मदिराजन्य उत्पादन वाहेकका उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले १० वर्षसम्म आयकरमा क्रमशः ९०, ८० र ७० प्रतिशत छुट व्यवस्था गरेको छ। यो सुविधा लिन व्यवसायीले होटललाई उत्पादनमूलक उद्योगमा समेट्न माग गर्दै आएका छन्।
– ऐनमा १ अर्बभन्दा बढी पुँजीमा खोलिने ५ सय बढीलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक वा सेवामूलक उद्योगलाई कारोबार सुरु भएको मितिले ५ वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था छ।
– उत्पादनमूलक उद्योगले आफ्नो कुल जनशक्तिमध्ये कम्तीमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखी प्रशिक्षण दिँदा दिइएको निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणनाबाट कट्टी गर्न सकिने व्यवस्था पनि ऐनमा छ।