चितवन। पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगर कार्यालय अगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिक मुहानको खोजीमा लागेका छन् । उक्त स्थानमा दसैं अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुन सक्ने अनुमानसहित प्राविधिक खोजीमा लागेका हुन्।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले बिछ्याएको पाइपबाट पानी निस्किएको बताए। सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनको भनाइ छ।
उनले भने, ‘वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुन सक्छ। नत्र तार हाल्न बिछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला।’ टेलिकमको पाइपमा कहाँबाट पानी छिर्यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिए।
खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताए।
नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनको सडक विस्तार भइरहेको छ। सो काम इन्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ। कम्पनीका इन्जिनियर सुनिल ढुंगानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए।
भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ। महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘हामीले दसैंअघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौं। प्राविधिक कारणले काममा ढिलाइ भएको छ।’-रासस