काठमाडौं। विश्व महाशक्ति अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि आजदेखि मतदान सुरु भएको छ। निर्वाचनमा डेमोक्र्याटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन्।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउन्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मतदाताको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान पछिल्ला मत सर्भेक्षणले देखाएका छन्।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ता परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ। आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन्।
यस पटकको निर्वाचनमा पनि विगत निर्वाचनजस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्।
तुलनात्मक रुपमा आप्रवासीप्रति नरम नीति अंगीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार सुम्पिने गरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ। रिपब्लिकन पार्टीका प्रत्यासी पूर्वराष्ट्रपति ट्रम्प आप्रवास नीतिप्रति कठोर मानिने गरेका छन्। उनले अमेरिका फस्ट नीति अगाडि सारेर राष्ट्रवादी रुझान देखाइरहेका छन्।
अन्तिम मतदाताको भर
अमेरिकामा ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ (मतदाताले अन्तिम समय निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ।
यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ। यी राज्यको विगत निर्वाचन नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्विङ राज्यमा जित हासिल गरेर निर्वाचित भएका थिए। सन् २०२० मा जो वाइडेनले ६ वटा राज्यमा जितेर राष्ट्रपति बन्न सफल भएका थिए।
पेन्सलभेनिया कति महत्त्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चार माध्यममा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ। सन् २०२४ को चुनावमा अमेरिकाभर १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ।
९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्ली भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन्। उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
नेपालीको मत निर्णायक हुन सक्छ ?
ब्याटल ग्राउन्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ। सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुन सक्ने बताइएको छ।
नेपाली मतदातालाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए। शनिबार मात्रै उनको अगुवाइमा मेरिल्यान्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने जानकारी दिए।
पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ। त्यसैले नेपाली अमेरिकनको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्न सक्ने उनको धारणा छ।
पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।
नेपालीहरु डेमोक्र्याट र रिपब्लिकनमा विभाजित
आप्रवासीप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपाली देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन्। नेपाली अमेरिकनले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन्।
ब्याटल ग्राउन्ड स्टेटको विश्लेषण
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ। उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ। समर्थकले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ।
चुनावी र्यालीको अन्तिम
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेका छन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकलाई सम्बोधन गरेका छन्।
अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्योल आज हुने निर्वाचनले गर्नेछ।
कुल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेको तथ्यांक छ। यसैगरी कुल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन्।–एजेन्सी