धनुषा। आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीलाई आकर्षक रुपमा सजाइएको छ। जनकपुरधामलगायत मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु भएको छ।
अन्नकुट तथा गोवर्द्धन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुन्छ। बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ।
छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो।
आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृंगारिँदै छ। खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइएको छ।
गंगासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ। गंगासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेका छन्। उनले छठ घाटमा अघ्र्य लिएर आउने श्रद्धालुका लागि घाटमा नम्बरिङ गरिएको बताए।
उनले पछिल्लो तीन वर्ष प्रतिअघ्र्य पाँच सय ५१ निर्धारण गरिएकामा यस वर्ष पाँच सय मात्र निर्धारण गरिएको उनको भनाइ छ। गंगासागरमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा क्लबले छठको तयारी गर्ने गरेको छ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठ पर्व सबैभन्दा प्रसिद्ध रहेको बताइएको छ। यसका लागि यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ। जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठ पर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन्। त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ।