काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराईबीचको टकरावले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट प्रक्रिया लम्बिएको छ ।
प्रधानमन्त्री ओली र पर्यटन मन्त्री भट्टराईको स्वार्थ (इन्ट्रेष्ट) जुधेपछि सीईओ छनौट समितिको बैठक नै बस्न सकेको छैन । समितिले बनाएको ‘सर्टलिष्ट’ प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाउँदै तत्काल सच्याउन निर्देशन दिएपछि छनोट समितिको वैठक अनिश्चितकालाका लागि स्थगित भएको छ ।
सोमबार साँझ बस्ने भनिएको छनौट समितिको बैठक मंगलबार मध्यान्हसम्म पनि बसेको छैन भने छनोट समितिका सदस्य कृष्णबहादुर महराले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई लक्षित गरेर सामाजिक सञ्जालमा लामो ‘स्टाटस’ लेखेका छन् ।
तत्कालीन सिइओ दीपकराज जोशीको कार्यकाल डिसेम्बर २४ मा सकिएपछि आगामी चार वर्षका लागि सीईओ छनौट हुन लागेको हो । सीईओ छनौटका लागि पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा महरा र विप्लव पौडेल संलग्न भएको समिति गठन गरेको थियो ।
समितिले प्राप्त आवेदननहरुमध्येबाट आइतबार धनन्जय रेग्मी, हिक्मत सिंह एैर र दीपक बस्ताकोटीलाई सर्टलिष्ट गरेको थियो । तर, प्रधानमन्त्री ओलीले सर्टलिस्टमा जोशीको नाम नदेखेपछि सचिव अधिकारीलाई जोशी नपर्नुको कारण मागेको बताईन्छ ।
पार्टी राजनीतिबाट टाढा रहेको भएपनि जोशीको कामबाट प्रधानमन्त्री ओली प्रभावित भएको स्रोतको दावी छ । ‘त्यहि भएर आगामी कार्यकालका लागि पनि ओलीले जोशीलाई नै बोर्डको सीईओ चाहेको देखिएको छ’ स्रोतले भन्यो ।
छानविन समितिका सदस्य पौडेलले मन्त्रालयका सचिव अधिकारीको कार्यव्यस्तताको कारण बैंठक स्थगित भएको बताए । अवको बैंठक कहिले बस्ने टुंगो नभएको उनको भनाइ छ ।
सर्टलिष्टमा तत्कालीन सिईओ जोशी नपरेपछि प्रधानमन्त्री ओली मात्र होइन चौतर्फि रुपमा समितिको बैधानिकताप्रति नै प्रश्न उठ्न थालेको छ । निजी क्षेत्रका अधिकाशं संघसस्थाले पनि रुचाईएका व्यक्तिभित्र पर्छन् जोशी । तर, पर्यटन मन्त्री भट्टराईले नचाहेका कारण जोशी सर्टलिस्टमै परेनन् ।
३ जनामा सिफारिस हुँदा प्रधानमन्त्रीले सिधै जोशीलाई सिइओ बनाउने देखेपछि पर्यटनमन्त्री भट्टराईको चाहनामा जोशीलाई हटाइएको हो । जोशीलाई सरकारले तीन महिनाका लागि सीईओ पदमै रहन यसअघि नै आग्रह गरेको थियो । तर, जोशी भने आफु खुला प्रतिस्पर्धामार्फत नै आउने भन्दै प्रतिस्पर्धामा भाग लिएका थिए ।
२०७२ को विनाशकारी भुकम्प र त्यसपछिको नाकाबन्दीको सयमा पनि नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण धेरैले जोशीलाई सकारात्मक रुपमा लिन्छन् ।
प्रधानमन्त्रीको रोजाईमा परेका अर्का व्यक्ति हुन्, भ्रमण वर्ष २०२०का सदस्य सचिव बच्चु नारायण श्रेष्ठ । उनी पनि तीन जनामा सूचिकृत भएनन् । यद्यपी श्रेष्ठलाई यती ग्रुपसँग नजिक भएको आरोप लागिरहेको छ ।
पर्यटन मन्त्री भट्टराईको रोजाईमा परेका स्वतन्त्र विश्लेशक तथा अनुसन्धानकर्ता रेग्मी सिइओ बन्ने पक्का जस्तै थियो । तर, प्रधानमन्त्रीको हस्तक्षेप पछि के हुन्छ भन्ने अन्योल सिर्जना मात्र भएको छैन प्रधानमन्त्री ओली र पर्यटन मन्त्री भट्टराईबीच दुरी बढ्ने देखिएको छ ।
विगतका पर्यटन क्षेत्रका राजनीतिक नियुक्ती रद्ध गर्न पर्यटन मन्त्री क्रियासिल देखिएका छन् । प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा १४ महिना अघि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त मदन खरेलले आइतबार राजिनामा दिएका छन् । पर्यटन मन्त्री नियुक्त भएलगत्तै भट्टराईले काम गर्न नसक्ने व्यक्तिले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए ।
निगमको कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले काम गर्न नसके पद ओगटेर बसिनरहन नहुने भन्दै खरेललाई घुमाउरो भाषामा राजीनामा गर्न भनेका थिए । त्यसपछि पनि उनका औपचारिक÷अनौपचारिक गतिविधि खरेल हटाउ अभियानमा केन्द्रित थिए ।
आफु निकटका र यसअघि नियुक्त पदाधिकारीहरुलाई पर्यटन मन्त्रीले हटाउ अभियान छेडेपछि प्रधानमन्त्री ओली पर्यटनमन्त्री भट्टराईसँग रुष्ट भएको बताईन्छ । पर्यटन मन्त्री नियुक्त हुनुअघि पनि भट्टराई ओलीका कट्टर आलोचक थिए । मन्त्री नियुक्त भएपछि भित्रभित्रै ओलीलाई चिढ्याउने काममा अग्रसर हुन थालेको चर्चा पर्यटन क्षेत्रमा सुरु भएको छ ।