काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई म्याद थपका निम्ति अदालतमा पेस गर्ने दिन पोखरामा सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू पोखरा जाने क्रम सुरु भएको छ ।
पार्टी उपसभापति तथा आन्दोलन सञ्चालन समितिका संयोजक डीपी अर्यालले आफूहरूको आन्दोेलन मंगलबार (भोलि) पोखरामा हुने जानकारी दिए ।सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते लामिछानेलाई पक्राउ गरिएको हो । लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको छ ।
लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।
उपसभापति अर्यालका अनुसार, रास्वपाको आन्दोेलन मंगलबार म्याद थपको दिन भएकाले पोखरामा गरिने भए पनि रविको थुना वा रिहाइले यो रोकिने छैन ।
“हामी आन्दोलनका एजेन्डा र स्वरूपमा होमवर्क गरिरहेका छौँ । भोलि (मंगलबार) पोखरामा आन्दोलन हुन्छ । त्यसपछि कहाँ र कसरी आन्दोलन सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्छौँ,” अर्यालले भने, “सहकारी ठगीमा परेकाहरूको बचत फिर्ता गर्न यो सरकारले कुनै कदम चालको छैन । त्यसका लागि हामी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छौँ ।”
उनले मंगलबारको आन्दोलनका निम्ति केही नेता पोखरा पुगिसकेका र आफू भने काठमाडौंमै रहेको जानकरी दिए । आफू आवश्यकताअनुसार पोखरा जाने वा नजाने निर्णय गर्न छलफल भइरहेको उनले बताए ।