वर्षातले बिपी राजमार्ग एकतर्फी बनेको छ। सोमबार बिहान परेको अविरल वर्षाले बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि भकुन्डेबेसीको बीचको भाग एकतर्फी बनेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
‘आज बिहानैदेखि परेको पानीले काभ्रेभञ्ज्याङदेखि भकुन्डेसम्मको केही भागमा एकतर्फीरूपमा यातायात सञ्चालन भइरहेको छ। दुईतर्फी बनाउने प्रयास भइरहेको छ,’ उनले भने।
असार १०, ११, १२ गते परेको वर्षाले बिपी राजमार्ग क्षतिग्रस्त तुल्याएको थियो। १३ दिनपछि अस्थायी ट्र्याक खनेर बाढीले बगाएको खण्ड जोडिएको थियो।
सोमबार परेको पानीले बेथानचोक–४ को सलान्दु बगरलगायतका ठाउँमा गाडी फसेको गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमिल्सिनाले जानकारी दिइन्।
‘पानी पर्नचाहिँ मत्थर भएको छ। तर खोलाको बगरैबगर बाटो खोलिएको ठाउँमा माथिबाट लेदो आएको छ। बाटो भासिएकाले सवारी गुड्न सकेका छैनन्। कतिपय ठाउँमा गाडीमा सवार यात्रुहरू पैदल हिँड्न थालेको सुनेका छौं। क्षतिको जानकारीचाहिँ आएको छैन,’ उनले भनिन्। वर्षाले बिपी राजमार्गलाई अस्थायी बनाइएको अरू ठाउँमा पनि समस्या भएको उनले बताइन्।
मौसमविद् गोविन्द झाकाअनुसार आज दिनभर बदली र वर्षातको सम्भावना छ। मंगलबारबाट मात्रै मौसममा सुधार देखिनेछ।
प्रतिकूल मौसमले मुलुकको हवाई उडानसमेमत प्रभावित भएको छ। मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन्। उनका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन।
‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ। सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ। मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन। उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ।
काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ।
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले काठमाडौं उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।