पहिलो पटक आयोजित होटेलियर समिट, २०२४ मा हुने ‘प्यानल डिस्कसन’ले नेपालको पर्यटन उद्योगको विकास र आगामी दिनमा थप उत्कृष्ट अवसर सिर्जना गर्नेमा विश्वस्त हुन सकिन्छ।
पर्यटन उद्योग कोभिड महामारीको प्रभावबाट विस्तारै बाहिर आउँदैछ। समिटमा हुने छलफल र त्यसबाट आउने निष्कर्षले पर्यटन उद्योगको भविष्यलाई पुनर्निर्माण गर्न बहुमूल्य भूमिका खेल्नेछ।
पर्यटन देशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मात्रै नभएर रोजगारी सिर्जनामा धेरै योगदान गर्ने क्षेत्रभित्र पर्छ। विश्व बैंकद्वारा प्रकाशित २०२२ को एक प्रतिवेदनअनुसार नेपालको पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ७ प्रतिशत योगदान गरेको छ।
पर्यटन क्षेत्रले १० लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। पर्यटन क्षेत्रले सिर्जित आन्तरिक रोजगारी कुल रोजगारीको ६.७ प्रतिशत हुन आउँछ।
नेपालले अतिथि सत्कारलाई प्राथमिकतामा राखेर पर्यटन उद्योगको प्रवद्र्धन गरिरहेको छ। अब यस क्षेत्रका उद्योगले आतिथ्यको गुणस्तर बढाउँदै अझ राम्रो सेवा, सांस्कृतिक अनुभव, पर्यावरणमैत्री पहल वा अद्वितीय (नयाँ प्रकारको) स्थानीय प्रस्तावलगायतका नयाँ आयाम उपयोग गरे नेपालमा थप पर्यटक आकर्षित गर्न सक्छ। अतिथि सत्कारले पर्यटकको बसाइ लम्ब्याउने मात्र नभएर दोहो¥याएर नेपाल आउन प्रोत्साहित र प्रेरित गर्दछ।
नेपालमा पर्यटन क्षेत्र वैदेशिक लगानी भित्र्याउने सबैभन्दा उत्तम विकल्प हो। पर्यटन क्षेत्र आजका दिनमा मानिस आउने र जाने विषयसँग मात्रै जोडिएको छैन। प्रविधि, पूर्वाधार, संस्कृति र हाम्रा मौलिक गतिविधिसँग पनि जोडिएको छ।
विश्वव्यापी पर्यटन उद्योगले सन् २०२३ मा बलियो ‘रिकभरी’ कायम गरेको छ। संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (युएनडब्लूटिओ) को प्रतिवेदनअनुसार विश्व पर्यटन उद्योग महामारीपूर्वको अवस्थामा पुगेको अनुमान गरिएको छ।
नेपालको पर्यटन क्षेत्र पनि करिब–करिब कोभिडअघिको अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ। गत आर्थिक वर्षमा नेपालमा पर्यटक आगमन संख्या १० लाख नाघेको छ। नेपालमा भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका देशबाट सर्वाधिक पर्यटक भित्रिएका छन्। पर्यटक आगमनमा भएको वृद्धिले आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रलाई फाइदा हुने अपेक्षा गरिएको छ।
नेपालको पर्यटन उद्योगका लागि भारत र चीन महत्त्वपूर्ण स्रोत हुन्। भारत र चीनमा बढ्दो मध्यम वर्ग एवं बढ्दो क्रयशक्ति क्षमताले नेपाल आउने पर्यटकको संख्या र खर्च बढ्ने अपेक्षा गर्न सकिन्छ। गत वर्ष चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो।
त्यसैगरी, पर्यटकहरुको पर्यावरणमैत्री यात्रातर्फको प्राथमिकतामा भएको परिवर्तनले नेपाललाई आगामी वर्षहरूमा नेपाल सम्भावित राम्रो गन्तव्य बन्न सक्छ। त्यसैले अहिले हस्पिटालिटी सेवामा सुधार र बढाइएको पर्याप्त लगानीले आगामी वर्षमा पर्यटन उद्योगलाई थप जीवन्त बनाउन मद्दत गर्छ।
नेपाल राष्ट्र बैंकले हस्पिटालिटी र पर्यटन क्षेत्रलाई अर्थतन्त्र प्रवद्र्धनको स्रोतका रुपमा लिएर केही महत्त्वपूर्ण पहल गरिसकेको छ। राष्ट्र बैंकले यो क्षेत्रलाई उत्पादनशील क्षेत्रमा राखेर कर्जा विस्तार र कर्जा प्रवाहको गुणस्तर सुधारमा जोड दिई वित्तीय स्थायित्व सुनिश्चित गर्न नियामक उपाय तर्जुमा गरिरहेको छ। राष्ट्र बैंकको प्राथमिकता उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन गरी आन्तरिक क्रियाकलापलाई अभिवृद्धि गर्ने हो।
राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रको रुपमा लिएर कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्दै आएको छ। २०८१ असारसम्म बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) ले होटल, रिसोर्ट, ट्रेकिङ, माउन्टेनियरिङ, ¥याफ्टिङ र क्यानोइङलगायतमा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। होटलमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट करिब १ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी भएको छ।
होटल क्षेत्रमा बैंकको ऋण बढ्दो प्रवृत्तिमा छ। होटल क्षेत्रलाई बैंकहरुले महत्त्वपूर्ण मानेर प्राथमिकतामा राखी ऋण लगानी बढाउँदै गएका छन्। नयाँ होटल निर्माणमा उल्लेख्य वृद्धि भएको छ। राष्ट्र बैंकले नयाँ तथा पुराना सबै होटलमा कर्जा प्रवाहलाई प्रोत्साहन गर्नुका साथै पर्यटन उद्योगको वृद्धि र विकासमा थप टेवा पु¥याउने बाह्य व्यावसायिक कर्जाको पहुँचमा पनि सहजीकरण गरेको छ।
राष्ट्र बैंकले विगतमा महामारीको झट्काले प्रभावित भएको पर्यटन उद्योग पुनरुत्थानका लागि पुनर्कर्जा सुविधा र अन्य नियामक सहुलियत तथा छुट व्यवस्था गरेर व्यावसायिक वातावरण बिग्रनबाट जोगाएको थियो।
नेपालको हस्पिटालिटी क्षेत्रको लगानी वृद्धि गर्दै पर्यटन विकासलाई बढावा दिन र देशलाई विश्वव्यापी पर्यटक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न यस्ता किसिमका कार्यक्रम महत्त्वपूर्ण हुन्छन्।
त्यसका लागि लगानी मात्रै नभएर आतिथ्य सेवामा सुधार गरेर ग्राहकले अनुभूति गर्ने वातावरण बनाउनुपर्छ। ग्राहक आतिथ्यमा सुधारिएको अनुभवले गन्तव्य प्रतिष्ठा बढाउन र उद्योगको दिगो तथा दीर्घकालीन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग मिल्छ।
निजी क्षेत्रले आशावादी भएर पर्यटन तथा हस्पिटालिटी उद्योगमा लगानी विस्तार गरिरहेको छ। पछिल्लो समय पाँचतारे होटलको संख्या बढेको छ। देशैभर नयाँ होटल र रिसोर्ट निर्माण भइरहेको देख्न सकिन्छ। यसबाट समग्र पर्यटन क्षेत्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ।
संयुक्त साझेदारीका विश्वस्तरीय होटल सञ्चालनले नेपालमा रोजगारीका साथै पर्यटन प्रवद्र्धमा समेत सहयोग पुगेको छ। पर्यटन क्षेत्र विस्तारै अधिक प्रतिस्पर्र्धी बन्दै गइरहेको छ।
प्रविधिसँगै गुणस्तरीय सेवाको आवश्यकताले नवीनतालाई अँगालेर ‘ग्लोबल चेन’ होटलसँग गरिएको सहकार्यले पर्यटन क्षेत्रको उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ।
नेपालको पर्यटन उद्योग प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। साथै, पर्यटन क्षेत्र अधिकतर आतिथ्यको पूर्वाधार, सेवाको गुणस्तर र क्षमतामा पनि निर्भर रहन्छ।
आतिथ्य क्षेत्र पर्यटनको एकीकृत अंग हो। नेपालको हस्पिटालिटी क्षेत्रमा थप लगानी गरेर फाइदा लिने अहिले प्रचुर अवसर छ। हस्पिटालिटीमा लगानीले सम्बन्धित पर्यटन क्षेत्रको उपक्षेत्रलाई उत्प्रेरित गर्न र देशको समग्र आर्थिक विकासमा योगदान पु¥याउने विश्वास गर्न सकिन्छ।