काठमाडौं। एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौंमा पटका पड्काउँदा वायु प्रदूषण बढेको विवरण सार्वजनिक गरेको छ।
रमझमको पर्व तिहारमा झिलीमिलीसँगै पटाकासमेतको खपत हुने गरेको छ। यद्यपि सरकारलाई पटाका पड्काउन निषेध गरेको छ। तर, लुकीछिपी पटाका पड्काउँदा उपत्यकामा बिहीबार १०० भन्दा कम रहेको एक्यूआई शुक्रबार १६० पुगेको छ।
इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौं प्रदूषित सहरको सूचीमा सूचीकृत भएको छ। सबैभन्दा प्रदूषित सहरको सूचीमा चीनको बेइजिङ पहिलो भएको छ।
वातावरणविद् भूषण तुलाधारका अनुसार तिहारमा पड्काइने पटकाका कारण उपत्यकामा वायु तथा ध्वनि प्रदूषण बढेको ठान्छन्।उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन संकेतले चिनिन्छ । ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ।
१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ मानिन्छ।
काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआईको मापन ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थ सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलने र प्रदूषण बढाउने हुँदा सतर्कता अपनाउनुपर्ने वातावरणविद् भूषण तुलाधार सुझाउँछन्।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ।
उपदाफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाखसम्म जरिमाना व्यवस्था छ। (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिमाना र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिमाना व्यवस्था छ।