काठमाडौं। अदुवा नेपालको तराईदेखि मध्य पहाडसम्म खेती गर्न सकिने बाली हो। परम्परादेखि नै नेपाली कृषकले केही मात्रामा अदुवा खेती गर्दै आएको देखिन्छ। यद्यपि, पछिल्लो समय मकवानपुर, धादिङ, नुवाकोट, चितवन, तनहुँ, नवलपरासी, स्याङ्जा, पाल्पा, गुल्मी, दाङ्ग, सल्यान, सुर्खेत, दैलेख, डोटी, डडेल्धुरा लगायत जिल्लाका कृषकहरु अदुवा उत्पादन र प्रवर्द्धनमा बढी मात्रामा लागिरहेका छन्।
इलाम, झापा, धनकुटा, पाँचथर, तेहथुम, मोरङ्ग, सुनसरी, उदयपुर, खोटाङ्ग, सिन्धुलीमा पनि अदुवा खेती राम्रै ढंगमा भइरहेको छ। चीन पछि नेपाल तेश्रो धेरै अदुवा उत्पादन गर्ने मुलुकमा पनि पर्दछ। नेपालमा वार्षिक सरदर ३ लाख मेट्रिक टन ताजा अदुवा उत्पादन हुने सरकारी तथ्यांक छ। ताजा गानो, चाना, सुठो, धुलो, तेल÷ओलियोरेजिन, मार्क, क्याण्डि, पेय पदार्थ र अचार बनाएर अदुवाको उपयोग गर्न सकिन्छ।
साधारणतया अदुवा ३००–१६०० मीटरको उचाइमा, तुसारो नपर्ने न्यानो तथा छहारी भएको क्षेत्रमा खेती गर्न सकिन्छ। नेपालको भित्री मधेस, उपत्यका र मध्य पहाड अदुवा खेतीका लागि उपयुक्त मानिन्छ। पोषकतत्वले भरपुर र औषधीय गुण भएको अदुवा बाली बाँदरले अधिक सताउने क्षेत्रमा झनै उपयोगि मानिन्छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले गरेको एक अध्ययनअनुसार पानी नजम्ने, अधिक प्राङ्गारिक पदार्थ भएको, ६–७ पि.एच. मान भएको दुमट माटोमा रोप्नु केही दिन पूर्व ट्राइकोडर्मा भन्ने जैबिक विषादी १० ग्राम प्रति लिटर पानीमा राखेर गानालाई ५ मिनट जति भिजाइ छहारीमा राख्नुपर्छ। गानो कुहिने रोग अदुवाको प्रमुख शत्रु भएकाले यसको व्यवस्थापनको लागि स्वस्थ बीउ रोज्ने र बीउ सुकाएर रोप्दा रोगको प्रकोपमा कमी आउँछ। साथै, यसले बिरुवाको बृद्धि विकासमा पनि सहयोग गर्दछ।
तयारी माटोमा प्रति रोपनी ५०–६० डोको कम्पोष्ट मल नाईट्रोजन, फस्फोरस र पोटास मल मिसाई ३०–४० सेन्टीमिटर हार बनाएर ड्याङ्ग बनाइ २०–२५ सेन्टीमिटर बोटदेखि बोटको दूरीमा १० सेन्टीमिटर गहिरो खाडलमा ४०–६० ग्रामको घाउचोट नलागेको स्वस्थ अदुवा चैत बैशाख महिनामा रोप्नु पर्दछ। रोपिएका अदुवालाई छापो दिनु राम्रो हुन्छ।
झारपात हटाउने, २–३ महिनामा ड्याङ्गमा माटो चढाउने तथा जमिनको चिस्यान हेरी हल्का सिंचाइ दिनुपर्छ। अदुवामा गानो कुहिने रोग, पहेलिने, भण्डारणमा ढुसी जस्ता रोग एवम् गवारो, गानोको झिंगा जस्ता किराले आक्रमण गर्नसक्छ। यस्तो समस्या देखिएमा प्राविधिकको सल्लाह लिएर व्यवस्थापनका उपाय अपनाउनु पर्दछ। बालीको राम्रो बानस्पतिक बृद्धि भएपछि श्रावण भदौतिर बुढि÷ब्रुनो निकालेर बिक्रि गर्न सकिन्छ।
अदुवा बाली ९–१० महिनामा परिपक्व हुन्छ। चोटपटक नलाग्ने गरी खनेर, जराहरू तथा माटो हटाइ सफा गरेर बिक्रिको लागि तयार गर्नु पर्दछ। अदुवालाई प्रशोधन गरी विदेश निर्यात गर्ने अभिप्रायले निजी र सरकारी क्षेत्रबाट पनि केही प्रयास भएका छन्। झापा, रुपन्देही, सुर्खेत, कैलालीमा अदुवा पखाल्ने तथा प्रशोधन केन्द्र पनि खोलिएका छन्। यद्यपि, अहिलेसम्मको अवस्थामा नेपालको अदुवा निर्यातको ९९ प्रतिशत हिस्सा भारतीय बजार नै हो र यसको ९४ प्रतिशत निर्यात ताजा अदुवा नै रहेको पाइन्छ।
जापान, नेदरल्याण्ड, दुवई नेपाली अदुवाको बजार सम्भावना बोकेका देश रहेको एउटा अध्ययनले देखाएको छ। साना किसानलाई उत्पादनमा सामेल गरेर उत्पादन बढाएर तथा स्वास्थता मापदण्ड पुरा गर्न सक्ने र उपजको विविधिकरण गर्न सकेको अवस्थामा अदुवा विदेश निर्यात गरेर रोजगारी सिर्जना र कृषकको आय आर्जनमा उल्लेख्य योगदान पुरÞ्याउन सकिन्छ।
एक रोपनि (डेढ कठ्ठा) जमिनमा अदुवा खेती गर्दा लाग्ने खर्च र हुने आम्दानी