काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्नेक्रम जारी छ। बुधबार मात्रै आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरे।
बुधबार नबिल बैंक, फस्र्ट माइक्रोफाइनान्स, सोल्टी होटल, विन्धावासीनि हाइड्रोपावरले लाभांश गरे। बुधबार नै नेपाल इन्फ्रास्टक्चर बैंकले भने लाभांश वितरण नगर्ने निर्णय गर्यो।
हालसम्म वाणिज्य बैंकमा एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आइएमई, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेका छन्। विकास बैंकमा कामना सेवाले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ।
एभरेष्ट बैंकले लाभांश घोषणा गरेर पारित पनि गरिसकेको छ। बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो। बैंकको साधारणसभाले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो।
सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरिसकेको छ। बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ। अर्को, सानिमा वाणिज्य बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंकले गत आव २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो।
प्राइम कमर्सियल बैंकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आव २०८०÷८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ।
स्ट्यान्डर्ड चार्टड बैंकले २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बुधबार लाभांश घोषणा गरेको नबिल बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो।
यस्तै, कामना सेवा विकास बैंकले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ। बैंकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गरेको हो।
लघुवित्ततर्फ आशा लघुवित्तले पनि लाभांश घोषणा गरिसकेको छ। लघुवित्तले गत आव २०८०÷८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश घोषणा गरेको छ।
गुराँस लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आव २०८०÷८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
फरवार्ड माइक्रो फाइनान्सले पनि सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत, सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत र नेशनल लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर धनीलाई ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
नेपाल इन्फ्राक्सटक्चर बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गर्दा विन्ध्यावासीनि हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस्तै, सोल्टी होटल लिमिटेडले आफ्ना सेयर धनीका लागि २६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। होटलले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोसन सेयर र २६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।