काठमाडौं। सूचना प्रविधिले विश्वलाई डोर्याइरहेको समयमा पनि विश्वको ५७ प्रतिशत जनसंख्या मात्रै मोबाइल इन्टरनेटको पहुँचमा पुगेको देखिएको छ। उद्योग निकाय जीएसएमएले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार हाल विश्वको ५७ प्रतिशत जनसंख्याले मात्रै मोबाइल इन्टरनेट प्रयोग गरेको पाइएको हो। जसअनुसार अझै विश्वको ४३ प्रतिशत जनसंख्याले अझै पनि मोबाइल इन्टरनेट प्रयोग गरेका छैनन्।
जीएसएमएले सार्वजनिक गरेको स्टेट अफ मोबाइल इन्टरनेट कनेक्टिभिटी–२०२४ को अध्ययन प्रतिवेदनअनुसार किफायती डिभाइस नहुनु र डिजिटल सीपको अभावले विश्वको ठुलो जनसंख्या मोबाइल इन्टरनेट पहुँचबाट बाहिर रहेको देखाएको हो। सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल इन्टरनेटको पहुँच बाहिर करिब ३ अर्ब ४५ करोड मानिस रहेका छन्। यद्यपि, लगभग १६ करोड मानिसले भने सन् २०२३ बाट पहिलो पटक मोबाइल इन्टरनेट प्रयोग गर्न थालेका थिए, जुन सन् २०२२ को समान हो।
तर, २०१५ देखि २०२१ सम्म भने यसरी थपिने नयाँ प्रयोगकर्ता वार्षिक २० करोड औषत थिए। युके फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) र स्वीडिश इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिडा) को सहयोगमा जीएसएमए मोबाइल फर डेभलपमेन्ट फाउन्डेसनमार्फत तयार पारिएको प्रतिवेदनले मानिस इन्टरनेट पहुँचमा जोडिन नसक्नुका कारण पनि थुप्रै उल्लेख गरेको छ।
प्रतिवेदनले ४ खर्ब ६ अर्ब मानिसहरूले आफ्नै डिभाइसबाट मोबाइल इन्टरनेट प्रयोग गरिरहेको देखाएको छ। जबकि, ३५ करोड मानिस (जनसंख्याको ४ प्रतिशत) भने मोबाइल नेटवर्क पुग्न नसकेको दुर्गम क्षेत्रमा बसोबास गरिरहेका छन्। तर, ३.१ अर्ब मानिस (३९ प्रतिशत जनसंख्या) मोबाइल नेटवर्क चल्ने क्षेत्रमा बसेपनि प्रयोग गर्दैनन्।
प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा सबैभन्दा कम मोबाइल इन्टरनेट जडान भएको क्षेत्र अफ्रिका हो, जहाँ जनसंख्याको २७ प्रतिशतले मात्र मोबाइल इन्टरनेट सेवा प्रयोग गरिरहेका छन्। उपयोग अन्तर (३.१ अर्ब मानिस) लाई बन्द गर्दा सन् २०२३ र २०३० को बीचमा विश्वव्यापी अर्थतन्त्रमा ३.५ ट्रिलियन डलर योगदान हुनेछ, जसको ९० प्रतिशतले निम्न र मध्यम आय भएका देशहरूलाई लाभान्वित गर्ने प्रतिवेदनमा उल्लेख छ।
खासगरी, गरिब, ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँच कम छ। कम जनसंख्या भएको, प्रायः कम विकसित, भूपरिवेष्ठित वा सानो टापु राज्यहरूमा पनि मोबाइल इन्टरनेट प्रयाग निकै न्यून छ। जीएसएमएले विश्वव्यापी मोबाइल इन्टरनेट पहुँचको लागि आवश्यक पूर्वाधार निर्माण गर्न ४१८ अर्ब डलर बिलियन लगानी आवश्यक पर्ने अनुमानसमेत गरेको छ।
मोबाइल इन्टरनेट प्रयोग कम भएका क्षेत्रमा मोबाइल फोनहरूको लागत मानिसको औसत मासिक ज्यालाको १८ प्रतिशतसम्म हुनसक्ने देखाइएको छ जुन २० प्रतिशत गरिब जनसंख्याको लागि ५१ प्रतिशतले बढी हो। प्रतिवेदनले मोबाइल ब्रोडब्यान्ड कभरेज मात्र होइन ‘सार्थक जडान’को महत्वलाई समेत ध्यानमा राख्नुपर्ने औंल्याएको छ। तबमात्रै प्रयोगकर्तालाई सुरक्षित, सन्तोषजनक, समृद्ध र उत्पादक अनलाइन अनुभव गराउन सकिने प्रतिवेदनमा उल्लेख छ।
अध्ययन प्रतिवेदनले पूर्वाधार, किफायती, उपभोक्ता तयारी र सामग्री तथा सेवा जस्ता विषय मोबाइल इन्टरनेटको पहुँचसँग जोडिएको उल्लेख गरेको छ। उत्तर अमेरिका, युरोप र मध्य एसिया लगायतको क्षेत्रमा इन्टरनेट कनेक्टिभिटीको उच्च स्तर छ। यस क्षेत्रको ७२ प्रतिशत जनसंख्या मोबाइल इन्टरनेट प्रयोग गर्छन्। जापान, दक्षिण कोरिया र अष्ट्रेलिया लगायत उच्च आय भएका देशहरूमा सन् २०२३ को अन्त्यसम्मा जनसंख्याको ८४ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गरेका थिए।