काठमाडौं। गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका भूमि समस्या समाधान आयोग अध्यक्ष हरिप्रसाद रिजालसहित आठ पदाधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसमक्ष शपथ लिएका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष रिजाल (प्युठान), उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट)लगायतका आठ पदाधिकारीलाई शपथ खुवाएका हुन्।
मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदै भूमि समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न आयोगबाट काम हुने विश्वास व्यक्त गरे।
आयोगका नवनियुक्त अध्यक्ष रिजालले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। अबको ६ महिनाभित्र १ लाख बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजना रहेको उनले बताए।
नवनियुक्त आयोगको विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं र तनहुँका आरती भण्डारी रहेका छन्। आयोग अध्यक्ष, उपाध्यक्ष एवं सदस्यको पदावधि ३ वर्ष हुनेछ।